Logo

प्रमुख समाचार

भृकुटीमण्डपमा वर्षौंदेखि भाडा नतिर्ने २० स्टलमा तालाबन्दी



काठमाडाैं । काठमाडौंको भृकुटीमण्डपमा भाडामा सटल लिएर पनि वर्षौंदेखि भाडा नतिरेपछि आज ताला लगाइएको छ । भाडा लिएर पनि नतिर्नेमध्ये २० वटामा आज समाजकल्याण परिषद्‌ले सुरक्षाकर्मीको सहयोगमा ताला लगाएको हो ।

यहाँ सबैभन्दा धेरै तिर्न बाँकी रहेको संस्था काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज रहेको छ । उक्त संस्थाले स्टल नम्बर ६८ का लागि १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ र स्टल नम्बर ३४ का लागि १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ तिर्न बाँकी रहेको स्रोतले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय अपांग महासंघले १ करोड १६ लाख ३२ हजार २७ रुपैयाँ भाडा नतिरेको परिषद्ले जनाएको छ । बालबालिकाका लागि काम गर्ने गैरसरकारी संस्था महासंघ नेपालले स्टल नम्बर ७४ को ८९ लाख ९० हजार ७४६ रुपैयाँ तिर्न बाँकी छ ।

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल)ले स्टल नम्बर ६० र ६१ भाडामा लिएर २०७७ सालदेखि अहिलेसम्म भाडा नतिरेको उल्लेख गरिएको छ ।

त्यस्तै नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्चले २१ लाख ८५ हजार ९५७ रुपैयाँ तिर्न बाँकी छ । यता ऋषि धमलासम्बद्ध रिपोर्टर्स क्लब नेपालले पनि ७३ लाख ४० हजार ९० रुपैयाँ भाडा नतिरेपछि उनको स्टलमा पनि ताला लगाइएको छ ।

यसैगरी उपभोक्ता मञ्च नेपालले ४५ लाख ५७ हजार ९०७ रुपैयाँ, लोकतान्त्रिक सहिद तथा घाइते समाजले १४ लाख ६१ हजार ३७० रुपैयाँ र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले ३३ लाख ७ हजार ४२१ रुपैयाँ भाडा नतिरेका छन् ।

अन्य व्यवसाय तथा पसलहरूमा पनि बक्यौता देखिएको छ । सेन्थेसिस एक्जिबिसन एण्ड इभेन्ट्सले १० लाख रुपैयाँ, मनकला श्रेष्ठको जुत्ता पसलले ७ लाख ४६ हजार २३ रुपैयाँ, टीकाराम सिटौलाको जुत्ता पसलले ११ लाख ८० हजार ६२५ रुपैयाँ र कृष्णप्रसाद लामिछानेको जुत्ता पसलले ८ लाख ९८ हजार १६३ रुपैयाँ तिर्न बाँकी छ ।

खाजा पसलतर्फ यशोदाकुमारी सेठीले १० लाख ५९ हजार १५६ रुपैयाँ, हरि हमात्यले ५ लाख १५ हजार ६६४ रुपैयाँ, नारायणकुमारी निरौलाले २ लाख ७३ हजार १३ रुपैयाँ, बुद्धिराम भुसालले ६ लाख ८७ हजार ७३४ रुपैयाँ, मञ्जु तिमिल्सिनाले ९ लाख ७ हजार ७१० रुपैयाँ र चित्रबहादुर पण्डित क्षेत्रीले २ लाख १९ हजार ५६७ रुपैयाँ तिर्न बाँकी रहेको छ ।

त्यस्तै नेपाल फोटो पत्रकार महासंघले पनि २० लाख ६८ हजार रुपैयाँ भाडा नतिरेपछि सम्बन्धित स्टलमा तालाबन्दी गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार १६:२४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।