Logo

प्रमुख समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहको नयाँ वर्ष सन्देश: राजनीतिमा युवा पुस्ताको भूमिका महत्वपूर्ण, देशको अवस्थाप्रति चिन्ता



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य सञ्चालन र राजनीतिमा युवा पुस्ताको बढ्दो संलग्नतालाई सकारात्मक र उत्साहजनक बताएका छन्। नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले देशको प्रगतिको आधार युवाहरूको सक्रियता हुने विश्वास व्यक्त गरेका हुन्।

उनले शिक्षित, देशबारे बुझ भएका र आधुनिक प्रविधिमा दक्ष युवाहरूको सहभागिताले राष्ट्रलाई सही दिशामा अघि बढाउन मद्दत गर्ने बताए । साथै विगतका कमजोरी र त्रुटिहरूलाई सुधार्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

उनले विगत केही वर्षदेखि देश अपेक्षित विकासको साटो पछाडि धकेलिँदै गएकोमा चिन्ता प्रकट गर्दै राजनीतिक र प्रशासनिक प्रणालीमा गरिएका फेरबदलहरू केबल सतही मात्र सावित भएको टिप्पणी गरेका छन् । दलीय राजनीतिको खिचातानीले गर्दा राष्ट्रको श्रीवृद्धि ओझेलमा परेको र देश एउटा प्रयोगशाला जस्तो मात्र बनेको उनको भनाइ छ।

पूर्वराजाले आफ्नो सन्देशमा देशको वर्तमान आर्थिक अवस्थालाई उकास्न र छिमेकी राष्ट्रहरूका साथै बाह्य मित्र शक्तिहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गरेका छन् ।

आन्तरिक सुरक्षा व्यवस्था कमजोर हुँदा नागरिकहरूले असुरक्षा र अभावको सामना गर्नु परिरहेको तर्फ संकेत गर्दै उनले सुरक्षा अङ्ग र सेवा सुविधाहरूलाई चुस्त र दुरुस्त बनाउन राज्यको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यसैगरी, शाहले परनिर्भरता र पराधीनताबाट देशलाई जोगाउन हरेक क्षेत्रमा आत्मनिर्भर र स्वाधीन बन्नुपर्नेमा जोड दिएका छन् । देशको स्रोत र शक्तिलाई सही सदुपयोग गर्दै स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको संवर्द्धन गरेमा मात्र राष्ट्रको गौरव बढ्ने उनको तर्क छ।

निषेध, फुट, द्वन्द्व र विद्रोहले मुलुकलाई कमजोर बनाउने बताउँदै उनले आपसी रिसराग र प्रतिशोध त्यागेर जनचाहना अनुसार संवाद, सहमति र सहकार्यको माध्यमबाट संवैधानिक समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार १६:५७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।