काठमाडौ ।भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिका–७ को भिमगिठे स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ ।
भवनको बिहीबार शिलान्यास भएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रुपमा भवनको शिलान्यास गरे ।
भारत सरकारको दुई लाख ५० हजार रुपैयाँको आर्थिक सहयोगमा बन्ने यो स्वास्थ्य चौकी भवनलाई उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत बडिगाड गाउँपालिकाले कार्यान्वयनमा ल्याउने छ ।
भवनको शिलान्यास गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे ।
नयाँ संरचनाले बडिगाड गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँचमा सुधार ल्याउन मद्दत पुग्ने उनको विश्वास छ।
नजिकका छिमेकीको रुपमा भारत र नेपालबीच बहुक्षेत्रीय सहकार्य हुँदै आएको छ । यस्ता सहकार्यका पाटालाई निरन्तर अघि बढाउने भारतीय पक्षको प्रतिवद्धता छ।




















प्रतिक्रिया