Logo

समाचार

काठमाडौंका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ



काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँ ले महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानमा भएका लुटपाट घटनाको अनुसन्धानका क्रममा गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित सोमबार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ककनी का २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, विदुर नगरपालिका का ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बु की १९ वर्षीया रीतिका माझी छन् ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराई ले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार गत चैत १२, १९ र वैशाख ६ गते काठमाडौँका विभिन्न स्थानमा भएका सुन लुटपाट घटनाको अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाबाट १२.९० ग्राम सुन, पेचकस, ठूलो रेन्ची, साना रेन्ची, मोबाइल फोन, खुकुरी तथा हुडी, ट्राउजर र ज्याकेटलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

गिरोहलाई तारकेश्वर नगरपालिका–४ पैँयुटारबाट पक्राउ गरिएको हो । उनीहरूविरुद्ध प्रहरी वृत्त थानकोट बाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलवार ०७:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।