Logo

प्रमुख समाचार

मुख्यसचिव खोज्दै सरकार, सिंहदरबारमा नेतृत्व संकट



काठमाडौं । सिंहदरबार यतिबेला नयाँ मुख्यसचिवको खोजीमा छ । मुख्यसचिव सुमनराज अर्याल को कार्यकाल असार २५ गते सकिन लागेसँगै सरकारमाथि उत्तराधिकारी छनोटको दबाब बढेको हो । तर मुख्यसचिव बन्ने लाइनमा रहेका अधिकांश सचिव अवकाशको मुखमा पुगेपछि सरकारलाई उपयुक्त नेतृत्व खोज्न कठिन भइरहेको छ ।

वरिष्ठताको हिसाबले अगाडि रहेका कृष्णहरि पुष्कर कर्ण र मधुसूदन बुर्लाकोटी समेत छिट्टै अवकाशमा जाँदैछन् । त्यसपछि सम्भावित सूचीमा रहेका किरणराज शर्मा को सेवा अवधि पनि छोटो मात्रै बाँकी रहेकाले सरकार अन्योलमा परेको चर्चा प्रशासनिक वृत्तमा छ ।

सिंहदरबारमा अहिले अर्को बहस पनि सुरु भएको छ—सरकारले परम्पराअनुसार वरिष्ठ सचिवलाई मुख्यसचिव बनाउने कि “विश्वासिलो” पात्र रोज्ने ? पछिल्ला वर्षमा संवैधानिक र प्रशासनिक नियुक्तिमा जेष्ठताभन्दा राजनीतिक निकटतालाई प्राथमिकता दिइएको आरोप लाग्दै आएको छ । त्यसैले यसपटक पनि सरकारले “जुनियर कार्ड” खेल्न सक्ने आशंका कर्मचारी वृत्तमा बढेको छ ।

यता प्राविधिक समूहबाट मुख्यसचिव ल्याउने सम्भावनासमेत चर्चामा छ । त्यसो भए गोपालप्रसाद सिग्देल अगाडि देखिन्छन् । भौतिक पूर्वाधार, सहरी विकास र ऊर्जा मन्त्रालय सम्हालिसकेका सिग्देललाई अनुभवी सचिवका रूपमा हेरिए पनि उनको सेवा अवधि पनि लामो छैन ।

उच्च प्रशासनिक तहमा बढ्दो विवाद र भ्रष्टाचारको छायाँले पनि सरकारलाई दबाबमा पारेको छ । हालै सचिवमा बढुवा भएका डुण्डुराज घिमिरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरणसँग जोडिएपछि कर्मचारी प्रशासनभित्र नै नैतिक नेतृत्वको प्रश्न उठ्न थालेको छ ।

अर्कोतर्फ, २०८३ सालको असोजभित्र १६ सचिव अनिवार्य अवकाशमा जाँदैछन् । शिक्षा, ऊर्जा, स्वास्थ्य, गृह, भौतिक पूर्वाधार र प्रधानमन्त्री कार्यालयजस्ता महत्वपूर्ण निकायमा नेतृत्व परिवर्तन हुने भएपछि राज्य संयन्त्रमा ठूलो शून्यता आउने चिन्ता बढेको छ ।

नयाँ आर्थिक वर्ष सुरु हुने बेलामै मुख्यसचिवसहित उच्च प्रशासनिक नेतृत्व फेरिने भएकाले सरकारको कार्यक्षमतामै असर पर्ने आकलन गरिएको छ । अहिले सिंहदरबारमा एउटै प्रश्न घुमिरहेको छ—सरकार योग्य र निष्पक्ष नेतृत्व रोज्छ कि राजनीतिक रूपमा अनुकूल पात्र खोज्छ ?

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार १०:०३   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।