Logo

समाचार

स्वास्थ्य बिमा भुक्तानी सहज बन्दै, सरकारले एक सातामै २१७ अस्पताललाई पठायो १ अर्ब



काठमाडौं । लामो समयदेखि बक्यौता भुक्तानीको समस्याले प्रभावित स्वास्थ्य बिमा कार्यक्रमको रकम निकासा प्रक्रिया पछिल्ला महिनामा तीव्र भएको छ।

सरकारले पछिल्लो चरणमा स्वास्थ्य बिमाबापत १ अर्ब ३ करोड रुपैयाँ विभिन्न स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गरेको छ।

स्वास्थ्य बिमा बोर्डका अनुसार उक्त रकम १५५ सरकारी, २५ सामुदायिक र ३७ निजी स्वास्थ्य संस्थाको खातामा पठाइएको हो।

यससँगै अघिल्ला वर्षदेखि रोकिएको बिमा दाबी भुक्तानी क्रमशः सहज बन्दै गएको बोर्डले जनाएको छ।

बोर्डले दुई दिनअघि मात्रै विपन्न नागरिक लक्षित उपचार सेवाबापत ३२ करोड ६ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको जनाएको छ।

बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन शाहका अनुसार यसपटक सरकारी अस्पतालसँगै निजी स्वास्थ्य संस्थाहरूमा उपचार गराएका बिमितको दाबी रकमसमेत भुक्तानी गरिएको छ।

भुक्तानी प्राप्त गर्ने स्वास्थ्य संस्थामा मध्यबिन्दु जिल्ला अस्पताल, नारायणी अस्पताल, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बिएण्डसी शिक्षण अस्पताल लगायतका स्वास्थ्य संस्था रहेका छन्।

बोर्डका अनुसार विपन्न नागरिकका लागि प्रदान गरिएको मिर्गौला डायलाइसिस, मुटुरोग उपचार, गम्भीर टाउको चोटपटक, स्पाइनल इन्जुरीलगायत सेवाको शोधभर्ना रकम भुक्तानी गरिएको हो।

आवश्यक कागजात पूरा भएका दाबीहरूको भुक्तानी प्राथमिकताका साथ गरिएको बोर्डले जनाएको छ।

स्वास्थ्य बिमा कार्यक्रमको दिगोपनाबारे विगतमा उठ्दै आएका प्रश्नलाई सम्बोधन गर्न सरकारले चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

साथै बिमा कार्यक्रमलाई स्रोतको सीमाभित्र सञ्चालन गर्ने, स्वास्थ्य संस्थाको सेवा तथा खरिद प्रक्रियामा निगरानी बढाउने र दाबी व्यवस्थापनलाई व्यवस्थित बनाउने तयारी गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता ले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी र विश्वसनीय बनाउन बाँकी दायित्व क्रमशः भुक्तानी गर्दै जाने बताएकी छन्।

भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कार्यक्रमको निगरानी र नियमनलाई थप सुदृढ बनाइने उनको भनाइ छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार ०७:३७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।