काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वमा डिकबहादुर खत्री ‘कुमार’ प्यानलसहित निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न सङ्घको निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पछि पार्दै खत्री अध्यक्ष पदमा विजयी भएका हुन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा खत्रीले ३४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी मेघनाथ भुर्तेलले १९२ मत प्राप्त गरे भने अर्का उम्मेदवार हरिबहादुर पाण्डे क्षेत्रीले १७० मतमा चित्त बुझाए ।
प्रथम उपाध्यक्ष पदमा २४१ मतसहित महेश कुमार बस्नेत निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कर्णराज कटुवालले २३१ मत र अर्का उम्मेदवार सन्जु गुरुङले २२८ मत प्राप्त गरे ।
त्यस्तै, द्वितीय उपाध्यक्षमा अनिल बोगटी ३१५ मत ल्याएर विजयी बनेका छन् भने उनका प्रतिस्पर्धीहरू रविन मेगाले मगरले २०५ र बालकृष्ण श्रेष्ठले १६८ मत प्राप्त गरे । तृतीय उपाध्यक्षमा निकै रोचक प्रतिस्पर्धाका बिच लक्ष्मण पौडेल २५९ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी तुलसीराम पुरीले जम्मा ३ मत कम अर्थात् २५६ मत पाए भने कृष्ण ढकालले १७२ मत प्राप्त गरे ।
सङ्घको महासचिव पदमा हरि डाँगी २७३ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धीहरू नुर महमद मियाले २४९ मत र अमर प्रकाश तिवारीले १६३ मत प्राप्त गरे ।
यसैगरी, सचिव पदमा केदार नाथ अधिकारी २९४ मत ल्याएर विजयी बनेका छन् भने कोषाध्यक्ष पदमा धनमाया सिन्जाली ३२३ मतसहित निर्वाचित भएकी छन् ।
पदाधिकारीसँगै कार्यसमिति सदस्यहरूमा पनि प्रगतिशील प्यानलले जित निकालेको छ। निर्वाचन समितिका अनुसार कुल १० कार्यसमिति सदस्यमध्ये ८ वटा सदस्य पदमा प्रगतिशील प्यानलका उम्मेदवारहरू विजयी भएका छन्।




















प्रतिक्रिया