Logo

समाचार

बिहे गरी अमेरिका लैजाने प्रलोभनमा १५ लाख ठगी, दम्पती पक्राउ



काठमाडौं । सामाजिक सञ्जालमार्फत बिहे गरी अमेरिका लैजाने प्रलोभन देखाएर १५ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौंको माछापोखरी बस्ने स्याङ्जा भीरकोट नगरपालिका– २, लुगाडाँडाका ३९ वर्षीय सञ्जीव नेपाली र उनकी श्रीमती काभ्रेको मण्डनदेउपुर नगरपालिका– १२ की ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुलीलाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार सञ्जीवले आफू अमेरिकामा रहेको र नेपाली बोल्न नआउने भनी अनुहारसमेत नदेखाई प्रिन्स तामाङ नामकाे टिकटक आइडी (@princetamang431)बाट अंग्रेजी भाषामा कुरा गर्थे। उनले विवाह गरी अमेरिका लैजाने प्रलोभन देखाई पटकपटक गरी १५ लाख १० हजार पाँच सय रुपैयाँ ठगी गरेको पीडित महिलाको जाहेरीमा उल्लेख छ।

महिलालाई विश्वासमा पार्न उनकी श्रीमती पराजुली बहिनी सरगम तामाङ बनेर कुराकानी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। मंगलबार पक्राउ परेका उनीहरूमाथि विद्युतीय माध्यमसम्बद्ध ठगी अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप भएको छ।

 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार १७:४३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।