काठमाडाैं । नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेको घोषणा गरेका छन्।
उनले आफू केही वर्षयता एट्रोफी सम्बन्धी रोगबाट पीडित रहेको जानकारी दिँदै नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेको बताएका छन्।
स्वास्थ्य अवस्थाका कारण पार्टीका गतिविधि र जिम्मेवारीमा विगतझैँ सक्रिय तथा प्रभावकारी भूमिका निर्वाह गर्न कठिन हुँदै गएको उनको भनाइ छ ।
तत्कालीन नेकपा माओवादीका नेता महरा देश शान्ति प्रक्रियामा आएदेखि पटक–पटक मन्त्री र एकपटक सभामुख बनेका थिए । पछिल्लो समय उनले सुन तस्करी प्रकरणको मुद्दा खेपिरहेका छन् ।
पूर्वसभामुख समेत रहेका रहेका महराले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘…आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु। यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यतात्मक परिस्थितिको परिणाम हो।’




















प्रतिक्रिया