Logo

प्रमुख समाचार

रास्वपा महाधिवेशन आजदेखि, पार्टी सभापति र प्रधानमन्त्रीले उद्घाटन गर्ने



चितवन  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आजदेखि भरतपुरमा सुरु हुँदै छ। महाधिवेशनको तयारी पूरा भएको भन्दै पार्टीले देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भएको जनाएको छ।

शनिबार साँझ भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत आवश्यक तयारी पूरा भएको जानकारी दिए।

भरतपुरको गेष्टहाउस चौरमा हुने उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह सहभागी हुने कार्यक्रम छ।

रास्वपाले महाधिवेशन व्यवस्थापनका लागि १८ उपसमिति गठन गरेको जनाएको छ। महाधिवेशनमा राजनीतिक, आर्थिक, साङ्गठनिक तथा विधानसम्बन्धी प्रतिवेदन पेस गरिनेछन्। शनिबार चितवनमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव अनुमोदन गरेको छ।

संशोधित प्रस्तावअनुसार पार्टीको केन्द्रीय समिति १२१ सदस्यबाट बढाएर १५१ सदस्यीय बनाइनेछ। प्रदेश सभापतिहरूलाई पदेन सदस्य राख्ने व्यवस्था गरिएको छ।

साथै पदाधिकारी तहमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने गरी विधान संशोधन गरिएको सचिवालय सदस्य तथा विधान संशोधन समितिका सदस्य गणेश पराजुलीले बताए।

प्रस्तावित संरचनाअनुसार एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहनेछन्। उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ।

विधान संशोधन प्रस्तावले १५१ मध्ये ५१ केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्न सक्ने व्यवस्था गरेको छ। बाँकी ९९ सदस्य खुला प्रतिस्पर्धाबाट चयन हुनेछन्।

मनोनयन गरिने सदस्यहरू समावेशिताको आधारमा छनोट गरिने तथा प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच जना केन्द्रीय सदस्य रहने व्यवस्था प्रस्तावमा समेटिएको छ।

प्रवक्ता झाले महाधिवेशनले संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तथा नयाँ नेतृत्व चयनलाई प्राथमिकतामा राख्ने बताए। उनका अनुसार विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा महाधिवेशनमा व्यापक छलफल हुनेछ।

रास्वपाले पार्टी सदस्य संख्या पाँच लाख पुगेको जनाएको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने ४ हजार ६३ वडामा संगठनात्मक अधिवेशन गरिएको छ।

छ प्रदेशका ६४ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेको र मधेश प्रदेश तथा अधिवेशन हुन बाँकी १३ जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधित्व सुनिश्चित गरिएको उनले बताए।

महाधिवेशनमा ३ हजार ९१८ प्रतिनिधि सहभागी हुनेछन्। त्यसमध्ये ३०० प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी पार्टीका दुई महामन्त्रीलाई दिइएको रास्वपाले जनाएको छ।

प्रकाशित मिति : ७ असार २०८३, आईतवार ०७:०५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।