Logo

समाचार

बाजुरा बस दुर्घटना अपडेट: २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर



बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा कम्तीमा २६ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो ।

बिहान ७ः१० बजे साँफेबगर–मार्तडी सडकखण्ड अन्तर्गत रिठाबजारमा उक्त दुर्घटना भएको थियो । बस चालक खप्तड छेडेदह गाउँपालिका–५ दोगडी बस्ने ४३ वर्षीय खडक बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेश शाहीले बताए ।

उनका अनुसार,बस महेन्द्रनगरबाट मार्तडीतर्फ आउँदै गर्दा अचानक ब्रेकफेल भई सडकको बाँया नाली साइडमा पल्टिएको जानकारी दिए । अस्थायी प्रहरी पोस्ट रिठा बजारबाट प्रहरी सहायक निरीक्षक धनबहादुर देउवाको कमाण्डमा सात जनाको टोली खटिएको छ ।

त्यस्तै प्रहरी चौकी बार्जुगाडबाट प्रहरी सहायक निरीक्षक रामबहादुर ऐडीको कमाण्डमा सात जना र जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक गगनसिंह भाटको कमाण्डमा १२ जना गरी ट्राफिक प्रहरीसहितको टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइतेहरूको उद्धारका लागि बडिमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स परिचालन गरिएको थियो । २३ जना घाइतेलाई जिल्ला अस्पताल बाजुरा ल्याइएको छ । त्यसमध्ये १ जना घाइतेलाई दुर्घटना स्थलबाट उपचारका लागि अछामको बयालपाटा अस्पताल पठाइएको हो । २ जना घाइते आफैं मोटरसाइकलमार्फत अस्पताल गएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको नामथर, ठेगाना र स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान तथा विवरण संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आईतवार १०:४५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।