काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ता असफल भए अमेरिका पुनः सैन्य कारबाहीमा उत्रिन सक्ने र विश्व ऊर्जा व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण होर्मुज जलडमरूमध्यमा नियन्त्रण कडा बनाउन सक्ने चेतावनी दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। त्यसको प्रभाव अमेरिकी शेयर बजारमा पनि देखिएको छ।
आइतबार उत्तरी समुद्री क्षेत्रबाट उत्पादन हुने ब्रेन्ट कच्चा तेलको मूल्य १.३५ प्रतिशतले बढेर प्रतिव्यारेल ८१.६६ अमेरिकी डलर पुगेको छ। अमेरिकी कच्चा तेलको मूल्य पनि २.४ प्रतिशतले वृद्धि भई प्रतिव्यारेल ७७.६६ डलर पुगेको छ।
अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा जारी वार्ता होर्मुज जलडमरूमध्य, लेबनानमा युद्धविराम र इरानको आणविक कार्यक्रमलगायत विषयमा सहमति जुट्न नसकेपछि अवरुद्ध भएको छ। यद्यपि अमेरिकी अधिकारीहरूले वार्ता जारी रहेको बताएका छन्।
ट्रम्पले सहमति नभए जलमार्ग प्रयोगबापत शुल्क लगाउने सम्भावना पनि औंल्याएका छन्। हाल वासिङ्टन र तेहरानबीच भएको समझदारीअनुसार ६० दिनसम्म कुनै शुल्क नलिई जलमार्ग सञ्चालन गर्ने सहमति छ।
यसअघि शनिबार इरानले अमेरिकाले प्रतिबद्धता उल्लंघन गरेको आरोप लगाउँदै होर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा गरेको थियो।
कोलम्बिया विश्वविद्यालयकी अनुसन्धानकर्ता करेन यङका अनुसार वार्ता सफल भई जलमार्गबाट हुने ढुवानी युद्धअघिको अवस्थामा फर्किए विश्व बजारमा कच्चा तेलको आपूर्ति उल्लेख्य रूपमा बढ्न सक्छ।
तेलको मूल्य घटे इन्धनको मूल्यमा पनि राहत मिल्ने अपेक्षा गरिएको छ। अमेरिकी मोटर चालक संघका अनुसार आइतबार अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ३.९४ डलर रहेको छ। यो एक महिनाअघिको तुलनामा करिब १४ प्रतिशत कम भए पनि युद्धअघि रहेको मूल्यभन्दा झन्डै एक डलर बढी हो।
यता अमेरिकी शेयर बजारमा पनि दबाब देखिएको छ। औद्योगिक कम्पनीहरूको प्रमुख सूचक ०.४ प्रतिशतले घटेको छ भने ५०० ठूला कम्पनीहरूको सूचक पनि ०.४ प्रतिशतले ओरालो लागेको छ। प्रविधि क्षेत्रका कम्पनीहरूको सूचक ०.६ प्रतिशतले घटेको छ।




















प्रतिक्रिया