Logo

राजनीति

तीन मन्त्रीले गरे माडी जाने सडक निरीक्षण



भरतपुर । भरतपुर–माडी सडक खण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडकको सोमबार तीन जना प्रदेश मन्त्रीले स्थलगत निरीक्षण गरेका छन्।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सडकको अवस्था अवलोकन गरेका हुन्।

निरीक्षणपछि पूर्वाधार विकासमन्त्री लम्सालले सडकमा सवारीसाधनको आवागमन सहज बनाउन तत्कालका लागि डबल बिटुमिनस सरफेस ट्रीटमेन्ट (डीबीएसटी) प्रविधिबाट कालोपत्रे गरिने र दीर्घकालीन समाधानका लागि ध्रुवघाटमा पक्की पुलसहित व्यवस्थित सडक निर्माण गरिने बताए।

उनका अनुसार ध्रुवघाट पुल तथा सडक निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ र छिट्टै ठेक्का आह्वान गरिनेछ।

हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त सडक माडीलाई भरतपुरसँग जोड्ने मुख्य तथा एकमात्र सडक मार्ग हो। हाल सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम भइरहेको छ।

चितवन–३ बाट निर्वाचित सांसदसमेत रहेकी मन्त्री गौतमले ध्रुवपोष्ट क्षेत्रबाट राप्ती नदीमाथि करिब ५०० मिटर लामो पुल निर्माण गर्ने योजना रहेको जानकारी दिइन्।

ध्रुवघाटमा पुल निर्माण भएपछि माडी पुग्ने दूरी करिब पाँच किलोमिटरले छोटिने जनाइएको छ। भरतपुरबाट माडी हुँदै ठोरी र वीरगञ्जसम्म जोडिने यो मार्ग भारतको सीमावर्ती क्षेत्र भिखना ठोरी पुग्नसमेत छोटो र सहज विकल्प मानिन्छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार २०:३९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।