काठमाडौँ। विश्वकप फुटबलमा समूह चरणका खेलहरु अन्तिम चरणमा पुग्दा शनिबार राति तीन समूहका ६ खेलहरु हुनेछन्।
समूह आईको खेलमा फ्रान्स र नर्वेबीच प्रतिस्पर्धा हुनेछ। यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेका फ्रान्स र नर्वे समूह विजेता बन्ने योजनामा हुनेछन्।
समान ६ अंक भएका दुईबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ। गोल अन्तरमा फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छन्।
समूह आई कै अर्को खेलमा सेनेगल र इराकबीच पनि खेल हुनेछ । राति पौने एक बजे नै सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै उत्कृष्ट तेस्रोभित्र पर्दै अन्तिम ३२ मा प्रवेशको योजनामा हुनेछन्। दुवै अंकविहीन छन्।
समूह एच मा स्पेन र उरुग्वे तथा साउदी अरेबिया र केप भर्डेबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल शनिबार बिहान ५ः४५ बजे सुरु हुनेछ। यो समूहमा सबै चारै टिमको नकआउट पुग्ने सम्भावना समान छ।
स्पेनसँग पराजित भए उरुग्वे लिग चरणमै रोकिनेछ । जितले स्पेन समूह विजेता बन्दै अन्तिम ३२ मा पुग्नेछ। हारले भने उरुग्वेको ५ अंक हुनेछ र अघिल्लो चरणमा प्रवेश गर्नेछ । अर्को खेलमा केप भर्डे विजयी भए विश्वकपको पहिलो सहभागितामा नै अघिल्लो चरणमा स्थान पक्का गर्नेछ।
उरुग्वे र केप भर्डेको हारले भने साउदी अरेबियाको भाग्य चम्कनेछ। उरुग्वे र केप भर्डेको जितले भने स्पेनले उत्कृष्ट तेस्रो भित्र पर्न कुर्नु पर्नेछ। स्पेनको ४, उरुग्वे र केप भर्डेको समान २ तथा साउदीको एक अंक छ।
समूह जीको खेलमा बेल्जियम र न्युजिल्यान्ड तथा इजिप्ट र इरानबीच खेल हुनेछ। दुवै खेल शनिबार बिहान ८ः४५ बजे सुरु हुनेछ। यो समूहमा पनि सबै चारै टिमको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ।
इजिप्टको ४, इरान र बेल्जियमको समान २ तथा न्युजिल्यान्डको एक अंक छ। इजिप्टले इरानलाई हराए समूह विजेता बन्नेछ भने बेल्जियम र न्युजिल्यान्डबीचको खेलको विजेताले उपविजेता बन्दै अघिल्लो चरणमा स्थान बनाउनेछ। इरान र बेल्जियम विजयी भए इजिप्टले उत्कृष्ट तेस्रो हुने सम्भावना कुर्नु पर्नेछ।




















प्रतिक्रिया