Logo

अर्थ

१२ वर्षयताकै अनुशासित बजेट ल्याएका छौं: अर्थमन्त्री



काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट पछिल्लो १२ वर्षयताकै सबैभन्दा सानो र अनुशासित रहेको दाबी गरेका छन्।

सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेटको आकार प्रक्षेपित अर्थतन्त्रको आकार (जिडिपी) को २८.५ प्रतिशतमा मात्र सीमित रहेकाले यो अनुशासित रहेको बताएका हुन्।

बजेट कार्यान्वयनमा अनावश्यक शङ्का नगर्न आग्रह गर्दै अर्थमन्त्री डा. वाग्लेले अर्थ मन्त्रालयको केन्द्रीकृत अधिकार विकेन्द्रीकरण गरिएको जानकारी दिए।

‘विभिन्न मन्त्रालयका फाइल अर्थ मन्त्रालयमा घुमाउनुपर्ने पुरानो अभ्यास अन्त्य गरेका छौँ,’ उनले भने, ‘रकमान्तरसहितका धेरै तजबिजी अधिकार अब सम्बन्धित मन्त्रालयलाई नै हस्तान्तरण गरिएको छ।’

अर्थमन्त्री डा. वाग्लेले शिक्षा, स्वास्थ्य र विद्युत् क्षेत्रमा लगाइएको कर तत्कालीन आवश्यकताभन्दा पनि आम नागरिकको दीर्घकालीन सार्वजनिक हितलाई ध्यानमा राखेर तय गरिएको बताए।

महत्त्वाकांक्षी आर्थिक विकासको लक्ष्य पूरा गर्ने उद्देश्यलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको उनको भनाइ छ। यसैबीच, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रिय सभा बैठकले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी असार १७ गते बस्ने तय भएको छ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार २१:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।