Logo

प्रमुख समाचार

विष्णु पौडेललाई थुनामुक्त गर्न अदालतको अस्वीकार, भट्ट र अग्रवालको फाइल झिकाउन आदेश



काठमाडौं । एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्न अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतले पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउने आदेश गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले सर्वोच्च अदालतले उक्त रिटसँग सम्बन्धित तथ्य र प्रमाणको समग्र अध्ययनका लागि विशेष अदालतबाट सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश जारी गरेको हो । पौडेलकी श्रीमती दोमाया पौडेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

अदालतको आदेशअनुसार विशेष अदालतमा रहेको सम्पूर्ण मिसिल सर्वोच्च अदालतमा पेश गरिनेछ । त्यसपछि सम्बन्धित कागजात, प्रमाण तथा मुद्दासँग जोडिएका अन्य विवरणको अध्ययन गरी रिटमाथिको सुनुवाइलाई अघि बढाइनेछ ।

बन्दीप्रत्यक्षीकरण रिटमा उठाइएका विषय र विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाबीच सम्बन्ध रहेको देखिएकाले न्यायिक निरूपणका लागि सक्कल मिसिल आवश्यक ठहर गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो ।

सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलवार १७:११   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।