Logo

समाचार

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा



चितवन ।  वर्षायाम सुरु भएसँगै पहिरोको जोखिमलाई ध्यानमा राख्दै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ।

सडक डिभिजन कार्यालय, भरतपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने नारायणगढ–मुग्लिन सडक तथा कालीगण्डकी करिडोरमा वर्षायामका क्रममा हुन सक्ने पहिरोका कारण सडक अवरुद्ध हुन नदिन आवश्यक तयारी गरिएको जनाएको छ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार पहिरोको उच्च जोखिम रहेका स्थानमा सडक अवरुद्ध भएलगत्तै हटाउन उपकरण तथा अपरेटर तयारी अवस्थामा राखिएका छन्।

उनका अनुसार मुग्लिन क्याम्पमा एक लोडर, सेतीदोभान क्याम्पमा एक एक्स्काभेटर, एक लोडर र एक ब्याकहो लोडर तयारी अवस्थामा राखिएको छ।

त्यसैगरी सडक डिभिजन कार्यालय परिसरमा एक ब्याकहो लोडर तथा कालीगण्डकी करिडोरमा एक लोडर पनि परिचालनका लागि तयारी अवस्थामा राखिएको उनले बताए।

लामिछानेले पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल पन्छाएर सवारी आवागमनलाई नियमित र सहज बनाउन उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिए।

नारायणगढ–मुग्लिन सडक वर्षायाममा लेदोसहितको पहिरो र हिउँदमा सुक्खा पहिरोका कारण पटक–पटक अवरुद्ध हुने गरेको छ। काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्गका रूपमा रहेको यस सडकखण्डबाट दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने गर्छन्।

 

प्रकाशित मिति : १६ असार २०८३, मंगलवार २०:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।