हेटौँडा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनमा फजुल खर्च नियन्त्रण गर्दै भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइने बताएका छन्।
मंगलबार बसेको बागमती प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलअघि बजेटसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै मन्त्री तामाङले विगतमा सञ्चालनमा रहेका बहुवर्षीय तथा टुक्रे योजनाको संख्या घटाएर व्यवस्थापन गरिएको जानकारी दिए।
उनका अनुसार अघिल्ला सरकारले प्रदेशका १३ जिल्लामा सञ्चालन गरेका करिब २४ हजार योजना घटाएर करिब १३ हजारमा सीमित गरिएको छ। योजनाको संख्या घटाएर उपलब्ध स्रोतलाई प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्य रहेको उनले बताए।
मन्त्री तामाङले जनता आवास कार्यक्रमअन्तर्गत बागमती प्रदेशका विभिन्न जिल्लामा स्थायी बसोबास गर्ने विपन्न दलित समुदायका एक हजार परिवारका लागि पक्की घर निर्माण गरी चालु आर्थिक वर्षभित्रै हस्तान्तरण गर्ने लक्ष्य रहेको पनि बताए।
उनले प्रदेश सरकारको मन्त्रालय संख्या पनि घटाइने जानकारी दिए। हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ वटा मन्त्रालय रहेकामा आगामी साउनको पहिलो सातादेखि त्यसलाई घटाएर मुख्यमन्त्रीसहित आठ मन्त्रालयमा सीमित गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको उनले बताए।
मन्त्री तामाङले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट दलगत स्वार्थभन्दा माथि उठेर सबै वर्ग र समुदायलाई समेट्ने गरी सन्तुलित रूपमा कार्यान्वयन गरिने दाबी गरे।
प्रदेशसभाका उपसभामुख अप्सरा चपागाईंले बैठक असार १७ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिइन्।





















प्रतिक्रिया