Logo

प्रमुख समाचार

पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घट्यो, कुनमा कति ? (सूचीसहित)



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल २० रूपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ३० रुपैयाँले घटेको जानकारी दिएको छ ।

२८ फेब्रुअरीयता पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य बढेपछि नेपालमा पनि इन्धनको मूल्य बढेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि निगमले नघटाएको भन्दै आलोचनासमेत सुरु हुन थालेको थियो ।

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको सुधारस्वरुप इण्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्यअनुसार  पेट्रोल, डिजेल र हवाई इन्धन तथा एलपी ग्यासमा समेत घटेर आएको निगमले जनाएको छ ।

मंगलबार नै बसेको निगम सञ्चालक समितिको बैठकले साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ, डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ४० रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५  र एलपी ग्यास प्रतिसिलिन्डर एक सय रुपैयाँले घटाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसादेखि १९७ रुपैयाँ कायम भएको छ । यसअघि २१४ रुपैयाँ ५० पैसादेखि २१७ रुपैयाँ थियो । डिजेलको मूल्य १९२ रुपैयाँ ५० पैसादेखि १९५ रुपैयाँ कायम भएको छ ।

यसअघि २२२  रुपैयाँ ५० पैसादेखि २२५ रुपैयाँ थियो । त्यस्तै एलपी ग्यासको मूल्य भरिएको एक सिलिन्डर (१४.२ केजी)को दुई हजार ६० र आधा भरिएको सिलिन्डर (७.१ केजी)को एक हजार ३० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार ०६:५८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।