Logo

राजनीति

१८ वर्षमुनिका सदस्य रहेको समाचार भ्रामक, प्रारम्भिक आवेदनको तथ्याङ्क मात्र सार्वजनिक भएको थियो : रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कलाई आधार बनाएर १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार जारी विज्ञप्तिमार्फत रास्वपाले सार्वजनिक भएको तथ्याङ्क अन्तिम रूपमा प्रमाणीकरण भएका सदस्यको नभई डिजिटल प्रणालीमा रहेका प्रारम्भिक सदस्यता आवेदन (सेल्फ–डिक्लेर्ड एप्लिकेसन डाटा)को समष्टिगत विश्लेषण मात्र भएको स्पष्ट पारेको छ ।

पार्टीले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, बालबालिका सम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा सदस्यका रूपमा सहभागी गराउने नीति, अभ्यास वा उद्देश्य नरहेको जनाएको छ ।

रास्वपाका अनुसार डिजिटल सदस्यता प्रणालीमा सदस्यता आवेदन, प्रमाणीकरण र अन्तिम स्वीकृति छुट्टाछुट्टै प्रक्रिया हुन् ।

एप वा वेबसाइटमार्फत जोसुकैले आवेदन दिन सक्ने भए पनि नागरिकता लगायतका आधिकारिक कागजातका आधारमा उमेर र राष्ट्रियता प्रमाणीकरण भएपछि मात्रै सदस्यता स्वीकृत हुने व्यवस्था रहेको छ ।

पार्टीले आवेदनका क्रममा आवेदकले स्वयं विवरण प्रविष्ट गर्ने भएकाले विक्रम संवत् र ईस्वी संवत् पात्रो छनोटमा त्रुटि, जन्ममिति टाइप गर्दा भएको गल्ती वा जन्ममितिको सट्टा हालको मिति राखिएका कारण केही आवेदकको उमेर वास्तविकभन्दा कम देखिएको प्रारम्भिक समीक्षाबाट खुलेको जनाएको छ ।

रास्वपाका अनुसार हाल डिजिटल प्रणालीमा ५ लाख २३ हजार ४६५ सदस्यता आवेदन दर्ता भएका छन् ।

तीमध्ये ३ लाख ९० हजार ११२ जनाको विवरण नागरिकतालगायत आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भइसकेको छ भने बाँकी आवेदन प्रमाणीकरणकै प्रक्रियामा रहेका छन्।

यस घटनापछि पार्टीले सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरेको जनाएको छ। अब १८ वर्षभन्दा कम उमेर देखिने आवेदनलाई प्रणालीबाटै स्वतः रोक्ने, प्रमाणीकरण भएका विवरणको पुनः परीक्षण गर्ने, विक्रम संवत् र ईस्वी संवत् सम्बन्धी त्रुटि न्यूनीकरणका लागि थप प्राविधिक व्यवस्था गर्ने तथा बाँकी सबै आवेदन आधिकारिक कागजातका आधारमा पुनः प्रमाणीकरण गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले पर्याप्त परीक्षण र प्रमाणीकरण नहुँदै प्रारम्भिक आवेदनका कच्चा तथ्याङ्क महाधिवेशनको सार्वजनिक प्रतिवेदनमा समावेश हुँदा आमनागरिक, सञ्चारमाध्यम र सरोकारवालामा भ्रम सिर्जना भएको स्वीकार गर्दै त्यसप्रति दुःख व्यक्त गरेको छ। साथै सम्पूर्ण विवरण पुनः परीक्षण गरी संशोधित तथा अद्यावधिक सदस्यता तथ्याङ्क यथाशीघ्र सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएको छ।

पार्टीले विधिको शासन, संविधानको सर्वोच्चता, सुशासन, पारदर्शिता तथा प्रचलित कानुनको पूर्ण पालनाप्रति आफू सदैव प्रतिबद्ध रहेको पुनः स्पष्ट गरेको छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार १९:५१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।