काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडको नाफामा ३५ प्रतिशत बढीको वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा ३५.३४ प्रतिशतले नाफा बढेको हो ।
गत आवमा बैंकको नाफा १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको नाफामा आएको यो सुधारसँगै बैंकको प्रतिसेयर आम्दानी पनि २१ रुपैयाँ ९६ पैसाबाट बढेर २८ रुपैयाँ ०४ पैसा पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको ३ अर्ब ६१ करोड २० लाख रुपैयाँबाट ५.६३ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल ब्याज आम्दानी केही घटे पनि निक्षेपको ब्याजमा हुने खर्च उल्लेख्य मात्रामा घट्दा बैंकको ‘नेट इन्ट्रेस्ट मार्जिन’ मा सकारात्मक प्रभाव परेको देखिन्छ ।
खुद फि तथा कमिसन आम्दानी अघिल्लो वर्ष ५१ करोड ८ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा २१.२० प्रतिशतले बढेर ६१ करोड ९२ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र कमिसन आम्दानी दुवैमा भएको वृद्धिले बैंकको कुल सञ्चालन आम्दानी बढेर ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
बैंकको कर्मचारी खर्च अघिल्लो वर्षको १ अर्ब ११ करोड ५ लाख रुपैयाँबाट बढेर १ अर्ब २४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ४६ करोड ३८ लाख रुपैयाँ रहेको अन्य सञ्चालन खर्च यस वर्ष करिब १.३४ प्रतिशतले मात्र बढेर ४७ करोड रुपैयाँमा पुगेको छ ।
बैंकको निक्षेपको लागत (कस्ट अफ फण्ड) ४.८४ प्रतिशतबाट घटेर ३.५३ प्रतिशतमा झरेको छ । बैंकको खुद ब्याज आम्दानीमा सुधार हुनुका साथै सञ्चालन मुनाफा पनि ४२.६५ प्रतिशतले बढेर २ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा सम्भावित कर्जा जोखिमका लागि ६४ करोड ७० लाख रुपैयाँ प्रोभिजनिङ (नोक्सानी व्यवस्था) मा छुट्याएको थियो । तर, गत आ.व.मा बैंकले यस्तो व्यवस्थाका लागि जम्मा ४ करोड ९० लाख रुपैयाँ मात्र खर्चिनुपरेको छ । अघिल्लो वर्षको तुलनामा कर्जा नोक्सानी व्यवस्था करिब ९२ प्रतिशतले घट्नु नै बैंकको नाफा ३५ प्रतिशतले बढ्नुको प्रमुख कारण हो ।
बैंकको खराब कर्जा (एनपिएल) को अनुपात ४.६९ प्रतिशतबाट सामान्य बढेर ४.७६ प्रतिशत पुगेको छ । नाफासँगै बैंकको वितरणयोग्य नाफामा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्ष ५९ करोड ९२ लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा गत वर्ष १०३ प्रतिशतभन्दा धेरैले बढेर १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यस आधारमा बैंकले आफ्ना सेयरधनीलाई करिब २०.२३ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ । ६ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले समीक्षा अवधिमा निक्षेप ९.२७ प्रतिशतले बढाएर ९८ अर्ब ४७ करोड पुर्याएको छ भने कर्जा प्रवाह १३.१८ प्रतिशतले विस्तार गर्दै ७८ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ ।
बैंकको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २६ पैसा रहेको छ भने पुँजी कोष अनुपात १३.६३ प्रतिशत कायम छ । खराब कर्जाको अनुपात ४.६९ प्रतिशतबाट सामान्य बढेर ४.७६ प्रतिशत पुग्नु चुनौतीपूर्ण देखिए पनि बैंकको आधार दर (बेस रेट) ६.९४ प्रतिशतबाट घटेर ५.२६ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९६ पैसाबाट बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ ।




















प्रतिक्रिया