Logo

प्रमुख समाचार

संसदमा अब कालो चस्मा लगाउन नपाइने, सभामुखले सांसदलाई दिए निर्देशन



काठमाडौं । प्रतिनिधिसभा बैठकमा अब सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्।

सभामुख डोलप्रसाद अर्यालले संसदको मर्यादा र गरिमा कायम राख्ने उद्देश्यले बैठकमा कालो चस्मा लगाएर उपस्थित नहुन सांसदहरूलाई निर्देशन दिएका हुन्।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले संसद बैठकमा सांसदहरूले कालो चस्मा लगाउने विषयमा बारम्बार प्रश्न उठ्ने गरेको उल्लेख गर्दै अबदेखि यस्तो अभ्यास रोक्न प्रमुख सचेतक र सचेतकमार्फत सबै दलका सांसदलाई जानकारी गराउन आग्रह गरेका थिए।

बैठकमा सहभागी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाका अनुसार सभामुखले संसदको मर्यादासँग जोडिएको विषय भएकाले बैठकमा कालो चस्मा प्रयोग नगर्न निर्देशन दिएका हुन्।

त्यसक्रममा थापाले प्रधानमन्त्री, मन्त्री र अन्य पदाधिकारीहरू पनि कालो चस्मा लगाएर संसदमा आउने गरेको उल्लेख गर्दै नियम सबैमा समान रूपमा लागू हुनुपर्ने धारणा राखेकी थिइन्।

त्यसपछि सभामुखले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारलाई सरकारका तर्फबाट पनि यस विषयमा आवश्यक जानकारी गराउन आग्रह गरेका थिए।

रास्वपाका सचेतक परियारले संसद बैठकलाई थप मर्यादित बनाउने सन्दर्भमा कालो चस्माको विषय उठेको बताए। उनका अनुसार बैठकमा सांसदहरूले अनिवार्य रूपमा संसदको लोगो लगाएर उपस्थित हुने तथा मर्यादित पोशाकको पालना गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो।

नेकपा प्रमुख सचेतक युवराज दुलालले पनि सभामुखले संसदको गरिमा र मूल्यमान्यता कायम राख्न आवश्यक रहेकोमा जोड दिएको जानकारी दिए।

संसदमा औपचारिक पोशाक र मर्यादित प्रस्तुतिमा ध्यान दिनुपर्ने तथा कालो चस्मा लगाउने अभ्यास उपयुक्त नदेखिएको सभामुखको धारणा रहेको उनले बताए।

सभामुख अर्यालले संसद बैठक सञ्चालन भइरहेका बेला सांसदहरू बैठक कक्षबाहिरको लबीमा लामो समयसम्म बसेर छलफल गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाएका छन्।

बैठक चलिरहेका बेला अनावश्यक रूपमा लबीमा समय बिताउने अभ्यासले संसदको कार्यसम्पादनमा असर पर्ने भएकाले त्यसमा सुधार गर्न उनले सांसदहरूलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभा नियमावलीमा सांसदको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोकेबमोजिम हुने व्यवस्था छ। नियमावलीले औपचारिक, मौलिक संस्कृति, परम्परा र पहिचान झल्किने मर्यादित भेषभूषा अपनाउनुपर्ने व्यवस्था गरेको छ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार २०:३७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।