काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चार गृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना टुंगिन नसक्ने भन्दै उनले पक्राउ गर्ने निर्देशन कसले दिएको थियो र त्यसको जिम्मेवारी कसले लिने भन्ने मुख्य प्रश्नको जवाफ खोजेका छन् ।
शर्माले केही महिनाअघि सञ्चार गृहअगाडि मोटर राखेर आतंक सिर्जना गरिएको घटनामा दोषी सार्वजनिक गर्न नसकेको सरकार अहिले पत्रकार पक्राउ प्रकरणमा पनि जिम्मेवारीबाट पन्छिन खोजेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री कार्यालयले गिरफ्तारीमा आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिनु पर्याप्त नभएको उनको भनाइ छ । सरकारको दायित्व संलग्नता अस्वीकार गर्नु मात्रै नभई प्रेसमाथि हुने यस्ता गतिविधि रोक्नु र जवाफदेही बन्नु रहेको उनले बताएका छन् ।
सत्तारूढ दलले पत्रकार गिरफ्तारीलाई गैरकानुनी भनेकोप्रति सकारात्मक टिप्पणी गर्दै शर्माले प्रेस स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी सरकारको पनि भएको बताएका छन् ।
उनले गलत समाचारको खण्डन र आवश्यक कारबाहीका लागि कानुनी विधि हुँदाहुँदै सञ्चार गृहमा प्रवेश गरेर पत्रकार पक्राउ गर्ने प्रवृत्ति स्वीकार्य नहुने उल्लेख गरेका छन् ।
स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको बताउँदै शर्माले पत्रकार पक्राउको वास्तविकता सार्वजनिक गर्न र संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गतिविधि रोक्न सरकारसँग माग गरेका छन् ।



















प्रतिक्रिया