Logo

प्रमुख समाचार

कांग्रेस एकीकृत भएमा कसैले पराजित गर्न सक्दैन : शशांक कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्नु आफ्नो प्रमुख दायित्व भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा सुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकताबद्ध भए कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरे। उनले पार्टीभित्रको मतभेदभन्दा एकता र संगठन सुदृढीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

सम्बोधनका क्रममा उनले कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासँगका पुराना सम्बन्ध र ऐतिहासिक प्रसंगसमेत स्मरण गरे। जननायक बीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको प्रसंग सुनाउँदै उनले बनारसमा देउवासँग बिताएका दिन सम्झिए।

बीपीकै निर्देशनमा आफूले देउवालाई बनारस घुमाएको र त्यतिबेला सँगै चलचित्र हेरेको स्मरण गर्दै कोइरालाले देउवाको विश्लेषण गर्ने क्षमताबाट आफू प्रभावित भएको बताए।

लोकतन्त्र पुनःस्थापनापछि गिरिजाप्रसाद कोइरालाको आग्रहमा लन्डनबाट फर्किएलगत्तै देउवा प्रधानमन्त्री बनेको प्रसंग उल्लेख गर्दै उनले देउवालाई ‘भाग्यमानी र प्रभावशाली नेता’को संज्ञा दिए।
“शेरबहादुरजी नै हाम्रो नेता र सभापति हुनुहुन्छ, उहाँकै नेतृत्वमा नेपाली कांग्रेस अगाडि बढ्छ,” कोइरालाले भने।

संस्थापन इतर समूहको राष्ट्रिय भेला भए पनि कोइरालाले देउवाको नेतृत्वप्रति समर्थन जनाएका हुन्। उनले देउवाको उपस्थितिले कार्यक्रम थप सफल भएको बताए।

देशका विभिन्न जिल्लाबाट भेलामा सहभागी नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले कार्यक्रम व्यवस्थापनमा भएका कमीकमजोरीप्रति क्षमायाचनासमेत गरे। कांग्रेसभित्र देखिएको उत्साह र एकताले नै पार्टीको आगामी भविष्य सुनिश्चित गर्ने उनको भनाइ थियो।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार १०:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।