काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले दोस्रो जित हात पारेको छ । आयोजक मलेसियालाई नेपालले ६ विकेटको फराकिलो अन्तरले हराएको हो ।
मलेसियाले प्रस्तुत गरेको १०४ रुनको लक्ष्य नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालका अर्जुन कुमालले अविजित ४५ रनको योगदान गरे । उनले ६८ बलमा चार चौका प्रहार गरे ।
इशान पाण्डेले २०, दीपेन्द्रसिंह ऐरीले अविजित १२ र रोहितकुमार पौडेलले १० रन बनाए । तेस्रो विकेटका निम्ति अर्जुन र इशानबीच ५७ रनको साझेदारी भएको थियो ।
मलेसियाका वीरनदीप सिंह, प्रशान्त मधुकर, आरिफ उल्लाह र कप्तान सैयद अजिजले एक/एक विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको थियो । मलेसियाका सैयद अजिजले ३०, अकिल वाहिदले २४, वीरनदीप सिंहले १४ र मोहम्मद स्याहदत रमीलले १३ रन जोडे ।
नेपालका करण केसीले चार, ललितनारायण राजवंशीले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानले एक/एक विकेट लिए ।
जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ । पहिलो हार व्यहोरेको मलेसिया समान खेलबाट दुई अंकका साथ दोस्रो स्थानमा छ ।
पहिलो खेलमा नेपालले बहराइलाई सात विकेटले हराएको थियो । मलेसियाले साउदी अरेबियालाई ९३ रनले पराजित गरेको थियो ।
नेपालले अब आउँदो आइतबार साउदी अरेबियाको सामना गर्नेछ ।
















प्रतिक्रिया