Logo

विविध

बाढीपीडितलाई २९ देशको सहयोग, खोज तथा उद्धारमा विदेशी टोली परिचालन



काठमाडौं। नेपालमा हालै आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि विश्वका २९ भन्दा बढी मुलुकले सहयोग उपलब्ध गराएका छन् । विभिन्न देशले राहत सामग्री पठाउनुका साथै खोज तथा उद्धारमा विशेषज्ञ टोलीसमेत नेपाल पठाएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारत, चीन, संयुक्त अरब इमिरेट्स (यूएई), बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, लात्भिया, लक्जमबर्ग, मलेसिया, म्यान्मार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड र चेक रिपब्लिकले विभिन्न प्रकारका राहत तथा सहयोग उपलब्ध गराएका छन् ।

युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघ तथा उसका विशिष्टीकृत निकायहरूले पनि बाढी प्रभावितका लागि सहयोग उपलब्ध गराइरहेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा नेपालले उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको भए पनि विपद्को व्यापकता र जटिलताका कारण अन्तर्राष्ट्रिय सहयोग अझै आवश्यक रहेको उल्लेख गरेको छ ।

छिमेकी भारतले खोज तथा उद्धारका लागि सुरुङ विज्ञ, चिकित्सक र फोरेन्सिक विज्ञसहितको टोली नेपाल पठाएको छ । भारतले ठूलो परिमाणमा राहत सामग्रीसमेत उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।

चीनले पनि राहत सामग्रीसहित सुरुङ तथा फोरेन्सिक विज्ञहरूको टोली नेपाल पठाएको छ । दक्षिण कोरिया र सिंगापुरबाट पनि खोज तथा उद्धार कार्यमा सहयोग गर्न टोली नेपाल आएका छन् ।

रसुवाको भोटेकोसी नदीमा भदौ १० मा आएको बाढीपछि नेपालले अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न थालेको हो । बाढीमा परी हालसम्म १ हजार ३ सय ४१ जनाको मृत्यु भएको र करिब ५ हजार जना सम्पर्कविहीन रहेको जनाइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आईतवार १९:५९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।