Logo

अर्थ

राष्ट्र बैंकद्वारा मंगलबार अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २३ गते सार्वजनिक बिदा परे पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

राष्ट्र बैंकअन्तर्गत बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई काउन्टर तथा बैंकिङ सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको हो।

रसुवा, नुवाकोटलगायत जिल्लामा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत वितरण, आर्थिक परिचालन तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन बैंकिङ सेवा आवश्यक रहेकाले सेवा बन्द नगर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ २३ गते ‘जेन्जी सहिद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा छ। तर, विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धारलगायत कार्य प्रभावित नहोस् भन्ने उद्देश्यले बैंकिङ सेवा नियमित राख्ने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार २०:४७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।