Logo

समाचार

रसुवामा बाढीबाट पीडित सुत्केरी र नवजात शिशुको हवाई उद्धार



काठमाडौं ।  रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ र उनका नवजात शिशुको हवाई उद्धार गरिएको छ।

गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएपछि आमा र शिशु दुवैमा स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण आमाछोदिङमो गाउँपालिका सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको थियो।

सडकमार्गबाट तत्काल स्वास्थ्य संस्थासम्म पुर्‍याउन सम्भव नभएपछि आमा र नवजात शिशुको जीवनरक्षाका लागि हवाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले गत भदौमा स्वीकृत गरेको कार्यविधिअनुसार बाढी तथा पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भई विशेष परिस्थिति सिर्जना भएमा दुर्गम क्षेत्रबाट ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी र २४ घण्टाभित्रका नवजात शिशुलाई हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन सकिने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार तामाङ र उनका नवजात शिशुलाई थप उपचारका लागि काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ल्याइएको मन्त्रालयले जनाएको छ।

उद्धार कार्यमा समन्वय तथा सहजीकरण गर्ने स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी तथा सम्बन्धित स्वास्थ्यकर्मीलाई मन्त्रालयले धन्यवाद दिएको छ।

 

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार २१:२०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।