Logo

विचार / ब्लग

लोककल्याणकारी विज्ञापनको रकम कटौती: प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति?



सरकारले स्वरोजगारमूलक छापा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि त्यसको प्रत्यक्ष असर केवल सञ्चार संस्थाको आम्दानीमा मात्र सीमित हुने देखिएको छैन । यसले प्रेसको आर्थिक आधार, पत्रकारको पेशागत सुरक्षा र नागरिकको सूचनाको अधिकारमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ ।

सरकारले आर्थिक संकटबाट गुज्रिरहेका छापा माध्यमलाई राहत र संरक्षण दिनुपर्ने समयमा उल्टै उनीहरूको मुख्य आयस्रोतमा प्रहार गरेपछि नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले यसलाई सामान्य प्रशासनिक निर्णय नभई प्रेस स्वतन्त्रतासँग जोडिएको विषयका रूपमा लिएको छ ।

२०८३ भदौ ५ गते शुक्रबार सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि छापा माध्यमका सम्पादक तथा प्रकाशकहरूबीच असन्तुष्टि चुलिएको हो । त्यसको प्रतिवादमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सरकारलाई निर्णय तत्काल फिर्ता लिन चेतावनी दिँदै माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने घोषणा गरिसकेको छ । शाखाले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयले विशेषगरी दैनिक, साप्ताहिक, पाक्षिक र मासिकलगायत साना लगानी तथा स्वरोजगारमूलक पत्रपत्रिकाको अस्तित्वमाथि नै संकट उत्पन्न गर्न सक्ने जनाएको छ ।

यसै विषयमा काठमाडौं शाखाले विभिन्न छापा माध्यमका सम्पादक तथा प्रकाशकसँग राय–सुझाव संकलन गरेपछि दामोदरप्रसाद दवाडीको संयोजकत्वमा ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’ गठन गरेको थियो । कार्यदलमा डा. केशव देवकोटा, टंक कार्की, हेमराज सिलवाल, मुक्ति बास्तोला, विश्वराज किराँत, सीता पोखरेल, नृपेन्द्रलाल श्रेष्ठ, डिल्लीराम भट्टराई, पदमराज जोशी , देवेन्द्र चुडाल र कल्पना खड्का सदस्य रहेका छन् । कार्यदलले गरेको अध्ययन, छलफल र प्राप्त सुझावका आधारमा सरकारको निर्णय सच्याउन दबाब दिने मात्र होइन, आवश्यक परे आन्दोलनमा जाने स्पष्ट खाका अघि सारेको छ ।

कार्यदलको निष्कर्षमा सबैभन्दा महत्वपूर्ण माग लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी कार्यविधि २०८३ मा गरिएको पहिलो संशोधन पूर्ण रूपमा खारेज गर्नुपर्ने रहेको छ । कार्यदलले समय, बजार मूल्य, मुद्रण लागत, कागज तथा वितरण खर्चलगायतका आधारमा लोककल्याणकारी विज्ञापनको रकम कटौती होइन, बरु समयअनुकूल पुनरावलोकन गरी दोब्बर गर्नुपर्ने माग अघि सारेको छ । यसले सरकारको वर्तमान नीतिमाथि एउटा आधारभूत प्रश्न उठाएको छ । छापा माध्यमको लागत निरन्तर बढिरहेका बेला राज्यले दिने संस्थागत सहयोग घटाउनुको औचित्य के हो ?

लोककल्याणकारी विज्ञापनलाई सरकारले कुनै राजनीतिक दल, मन्त्री वा सरकारको व्यक्तिगत कृपाजस्तो व्यवहार गर्नु नै समस्या भएको सञ्चार क्षेत्रको निष्कर्ष छ । सार्वजनिक सूचना नागरिकसम्म पुर्‍याउने काम राज्यको दायित्व हो । त्यसका लागि सञ्चारमाध्यमले आफ्नो पूर्वाधार, जनशक्ति, सम्पादकीय संयन्त्र र वितरण प्रणाली प्रयोग गर्छन् । त्यसैले सार्वजनिक सूचना प्रकाशन गरेबापत राज्यले उपलब्ध गराउने रकमलाई ‘अनुदान’ वा ‘कृपा’को भाषामा बुझ्नु नै गलत हुने ।

अझ गम्भीर प्रश्न त के हो भने सरकारका नीति र निर्णयमाथि प्रश्न उठाउने, आलोचना गर्ने र नागरिकका पक्षमा खबरदारी गर्ने सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने नीति कतै अप्रत्यक्ष नियन्त्रणको माध्यम त बनिरहेको छैन ?काठमाडौं शाखाको आरोप छ । सरकारले सञ्चारमाध्यमलाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने अवस्थामा उल्टै आर्थिक संकट थप गहिरो बनाउने निर्णय गरेको छ । विशेषगरी ठूला व्यावसायिक घराना वा पर्याप्त वैकल्पिक आम्दानी भएका सञ्चारगृहभन्दा सीमित लगानी, आफ्नै श्रम र पेशागत प्रतिबद्धताका आधारमा सञ्चालित पत्रपत्रिकामाथि यसको असर बढी पर्न सक्छ । एउटा साप्ताहिक वा पाक्षिक पत्रिका बन्द हुनु केवल एउटा पत्रिका बन्द हुनु होइन, त्यससँग जोडिएका पत्रकार, कर्मचारी, वितरक, मुद्रक र पाठकको सूचना पहुँचमा समेत असर पर्नु हो ।

यही वास्तविकतालाई ध्यानमा राख्दै कार्यदलले संशोधित कार्यविधि खारेज नभएसम्म कटौती गरिएको रकमअनुसार छापा माध्यमले बिल नबुझाउने वातावरण बनाउन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई आग्रह गर्ने सुझाव दिएको छ । महासंघले देशभरका छापा माध्यमसँग समन्वय गरी सामूहिक दबाब सिर्जना गर्नुपर्ने कार्यदलको निष्कर्ष छ ।

कार्यदलले विज्ञापन बोर्डको भूमिकामाथि समेत प्रश्न उठाएको छ । सञ्चारमाध्यमलाई विज्ञापन बोर्डमा सूचीकरण गराउने व्यवस्था तत्काल हटाउनुपर्ने तथा लोककल्याणकारीलगायत सम्पूर्ण विज्ञापनबाट बोर्डले कटाउँदै आएको ३ प्रतिशत रकम खारेज गर्नुपर्ने माग अघि सारिएको छ । सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर भइरहेका बेला विज्ञापनको रकमबाट थप प्रशासनिक कटौती गर्नुको औचित्यमाथि कार्यदलले प्रश्न उठाएको हो ।

त्यस्तै राष्ट्रिय समाचार समिति (रासस) बाट प्रकाशित समाचार बुलेटिनको मूल्यमा गरिएको ठूलो वृद्धि पनि छापा माध्यमका लागि अर्को आर्थिक भार बनेको कार्यदलको ठहर छ । समाचार सामग्री सञ्चारमाध्यमलाई न्यूनतम र व्यवहारिक मूल्यमा समाचार बुलेटिन उपलब्ध गराउनुपर्ने माग कार्यदलले अघि सारेको छ । राज्यका सञ्चार संरचनाले नै निजी तथा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई अतिरिक्त आर्थिक बोझ थप्ने हो भने सञ्चार क्षेत्रको संरक्षणसम्बन्धी सरकारी प्रतिबद्धता कागजमै सीमित हुने देखिन्छ ।
सरकारको सञ्चार नीति र व्यवहारबीचको विरोधाभास पनि यहीँ देखिन्छ । एकातिर सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्छ, अर्कोतिर सरकारी विज्ञापन तथा सार्वजनिक सूचनामा निजी क्षेत्रका सञ्चारमाध्यमलाई निषेध गर्ने प्रयास हुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवस्तरीय निर्णयमार्फत निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट निषेध गर्ने प्रयास सर्वोच्च अदालतबाट खारेज भइसकेको अवस्थामा त्यसको मर्मविपरीत कार्यविधि संशोधनमार्फत अप्रत्यक्ष बन्देज लगाउने प्रयास स्वीकार्य नहुने कार्यदलको निष्कर्ष छ ।

अदालतको आदेशपछि पनि नीतिगत बाटोबाट त्यही उद्देश्य प्राप्त गर्न खोजिन्छ भने त्यो लोकतान्त्रिक शासन व्यवस्थाका लागि गम्भीर प्रश्न हो । प्रशासनिक निर्णय बदलेर अदालतको आदेशको भावनालाई निष्प्रभावी बनाउने अभ्यास लोकतान्त्रिक शासन प्रणालीको मूल मर्मसँग मेल खाँदैन । सरकार सञ्चारमाध्यमप्रति जवाफदेही हुनुपर्ने हो, सञ्चारमाध्यमलाई आफ्नो नियन्त्रणमा राख्ने होइन ।

सरकारी विज्ञापन वितरणमा देखिएको अर्को समस्या विभेद र अपारदर्शिता हो । कार्यदलले समानुपातिक विज्ञापन प्रणाली लागू गर्नुपर्ने माग गरेको छ । सञ्चारमाध्यमको पहुँच, लगानी, प्रसार, प्रकाशनको नियमितता र अन्य वस्तुगत आधारलाई ध्यानमा राखेर पारदर्शी मापदण्ड बनाउन सकिने भए पनि राजनीतिक पहुँच, निकटता वा प्रशासनिक निर्णयका आधारमा विज्ञापन वितरण हुने अवस्था अन्त्य गर्नुपर्ने आवाज उठेको छ ।

लोककल्याणकारी विज्ञापनको रकम कटौतीको विरोधमा काठमाडौं शाखाले तत्काल आन्दोलनमा जानेभन्दा पहिले संवाद र दबाबको बाटो अपनाउने रणनीति अघि सारेको छ । कार्यदलले सूचना तथा सञ्‍चार मन्त्रीलाई निश्चित समयसीमा तोकेर ज्ञापनपत्र बुझाउने, सम्बन्धित सरकारी निकाय र राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने तथा माग सम्बोधनका लागि दबाब सिर्जना गर्ने सुझाव दिएको छ । त्यसबाट पनि समस्या समाधान नभए विज्ञापन बोर्डमा तालाबन्दीलगायत भौतिक आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने प्रस्ताव गरिएको छ ।

यो रणनीतिले सरकारलाई एउटा स्पष्ट सन्देश दिएको छ । सञ्चार क्षेत्र अब आफ्नो अस्तित्वमाथि हुने आर्थिक प्रहारलाई सामान्य प्रशासनिक निर्णयका रूपमा स्वीकार गर्ने अवस्थामा छैन । लामो समयदेखि आर्थिक संकट झेलिरहेका सञ्चारमाध्यमका लागि लोककल्याणकारी विज्ञापन धेरै अवस्थामा नियमित प्रकाशनलाई निरन्तरता दिने आधार बनेको छ । त्यसमा कटौती हुँदा मुद्रण, कागज, कर्मचारी पारिश्रमिक, वितरण तथा कार्यालय सञ्चालनको खर्च धान्न कठिन हुने जोखिम बढ्छ ।

यसको प्रत्यक्ष असर पत्रकारको रोजगारीमा पर्न सक्छ । सञ्चार संस्था आर्थिक रूपमा कमजोर भएपछि पहिलो असर जनशक्ति कटौतीमा पर्न सक्छ । त्यसपछि प्रकाशनको नियमितता प्रभावित हुन्छ, पृष्ठ संख्या घट्छ, पारिश्रमिक रोकिन सक्छ र अन्ततः संस्था बन्द हुने अवस्था आउन सक्छ । त्यसैले लोककल्याणकारी विज्ञापनको रकम कटौतीलाई केवल ‘विज्ञापनको रकम घटेको’ विषयका रूपमा हेर्नु वास्तविक समस्याबाट भाग्नु हो ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सरकारलाई दिएको चेतावनी पनि यही कारण अर्थपूर्ण छ । शाखाले निर्णय नसच्याए देशभरका पत्रकार, सम्पादक, प्रकाशक, सञ्चारमाध्यम तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संघ–संस्थासँग समन्वय र सहकार्य गरी चरणबद्ध तथा सशक्त आन्दोलन सञ्चालन गर्ने जनाएको छ । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने चेतावनीसमेत दिइएको छ ।

अब सरकारसामु दुई विकल्प छन् । पहिलो—सञ्चार क्षेत्रबाट उठेको गम्भीर आवाजलाई बेवास्ता गर्दै कटौतीको निर्णय कार्यान्वयन गर्ने र त्यसबाट उत्पन्न हुने असन्तुष्टिलाई आन्दोलनका रूपमा सामना गर्ने । दोस्रो—निर्णय पुनरावलोकन गरी संवादमार्फत समस्या समाधान गर्ने र स्वरोजगारमूलक सञ्चारमाध्यमलाई बचाउने दीर्घकालीन नीति बनाउने । लोकतान्त्रिक सरकारका लागि दोस्रो विकल्प नै स्वाभाविक र जिम्मेवार विकल्प हो ।

सरकारले बुझ्नुपर्ने कुरा के हो भने प्रेसलाई आर्थिक रूपमा कमजोर बनाएर राज्य बलियो हुँदैन । आलोचनात्मक आवाज दबाएर लोकतन्त्र बलियो हुँदैन । सरकारी विज्ञापनलाई नियन्त्रणको औजार बनाएर नागरिकको सूचनाको अधिकार सुरक्षित हुँदैन । बरु स्वतन्त्र, सबल र आर्थिक रूपमा टिकाउ सञ्चारमाध्यम लोकतन्त्रको सुरक्षाकवच हुन् ।

त्यसैले अहिलेको प्रश्न केवल लोककल्याणकारी विज्ञापनको केही रकम घटाउने वा नघटाउने भन्ने होइन । प्रश्न राज्यले स्वतन्त्र प्रेसलाई साझेदारका रूपमा हेर्छ कि नियन्त्रण गर्नुपर्ने क्षेत्रका रूपमा ? प्रश्न सरकार नागरिकलाई सूचना दिने सञ्चारमाध्यमको संरक्षण गर्न चाहन्छ कि आर्थिक रूपमा कमजोर बनाएर उसको प्रभाव सीमित गर्न चाहन्छ ? र सबैभन्दा महत्वपूर्ण प्रश्न लोकतन्त्रको चौथो अंगलाई बलियो बनाउने कि सरकारी निर्णयको विरोध गर्न नसक्ने आर्थिक रूपमा निर्भर प्रेस निर्माण गर्ने ? यी प्रश्नको जवाफ सरकारले व्यवहारबाट दिनुपर्ने समय आएको छ ।

लोककल्याणकारी विज्ञापन कुनै सरकारको दया होइन । यो सार्वजनिक सूचना प्रवाह गर्ने सञ्चारमाध्यमको संस्थागत भूमिकाप्रति राज्यको दायित्व हो । त्यसैले कटौती गरिएको रकम फिर्ता गर्नु मात्र पर्याप्त हुँदैन । कार्यविधि पुनरावलोकन गरी समयअनुकूल विज्ञापन रकम वृद्धि गर्नुपर्ने, समानुपातिक र पारदर्शी विज्ञापन प्रणाली लागू गर्नुपर्ने, विज्ञापन बोर्डको ३ प्रतिशत कटौती अन्त्य गर्नुपर्ने, निजी सञ्चारमाध्यमलाई सरकारी सूचनाबाट निषेध गर्ने कुनै पनि अप्रत्यक्ष नीति रोक्नुपर्ने र राससको बुलेटिन शुल्कलाई व्यवहारिक बनाउनुपर्ने आवश्यकता छ । सरकारले अझै पनि समयमै संवाद र समाधानको बाटो रोज्न सक्छ । अन्यथा आज लोककल्याणकारी विज्ञापनको रकमबाट सुरु भएको असन्तुष्टि भोलि प्रेस स्वतन्त्रता, पत्रकारको रोजगारी र नागरिकको सूचनाको अधिकारको व्यापक आन्दोलनमा परिणत हुन सक्छ ।

सञ्चारमाध्यमलाई कमजोर पारेर सत्ता बलियो बनाउन खोज्ने कुनै पनि नीति अन्ततः लोकतन्त्रकै लागि महँगो साबित हुन्छ । त्यसैले सरकार तत्काल निर्णय फिर्ता लेओस्, संशोधित कार्यविधि खारेज गरोस् र छापा माध्यम बचाउने दीर्घकालीन नीति अघि सारोस् । अन्यथा सरकारको यो निर्णय इतिहासमा केवल एउटा विज्ञापनको रकम कटौतीको निर्णयका रूपमा होइन, स्वतन्त्र प्रेसको आर्थिक आधार कमजोर पार्ने विवादास्पद नीतिका रूपमा दर्ज हुन सक्नेछ ।

(लेखक नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ।)

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलवार ११:०४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।