काठमाडाैं । मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए)ले रसुवाको भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
एसोसिएसनले आफ्ना सदस्य संस्थाहरूबाट उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सरकारलाई हस्तान्तरण गरेको हो।
एमपीआईएका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले भदौ २४ गते अर्थमन्त्रीलाई ३१ लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम संकलन गरिएको एसोसिएसनले जनाएको छ।
एमपीआईएका अनुसार विपद्का कारण घरबार, सम्पत्ति तथा दैनिक जीवनमा ठूलो क्षति व्यहोरेका प्रभावित परिवारलाई राहत पुर्याउन उक्त सहयोगले केही योगदान पुग्ने अपेक्षा गरिएको छ।
सहयोग रकम हस्तान्तरण गर्दै एमपीआईएका अध्यक्ष दीपक कुमार मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए।
उनले बाढीपहिरो प्रभावितलाई सहयोग गर्ने उद्देश्यले सदस्य संस्थाहरूले देखाएको सद्भाव र योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै सहयोग गर्ने सबै सदस्य संस्थालाई धन्यवादसमेत दिएका छन्। भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न निजी क्षेत्रका संस्था, व्यावसायिक समूह तथा व्यक्तिहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी छ।
















प्रतिक्रिया