Logo

समाचार

प्रधानमन्त्रीले घोषणा गरेको समयसीमामै कृष्णभीरमा ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात



काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा प्रधानमन्त्री वालेन्द्र शाहले घोषणा गरेको समयसीमाभित्रै नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । भदौ १० र १४ गतेको बाढीका कारण सडक अवरुद्ध भएपछि सरकारले भदौ महिनाभित्रै यातायात सञ्चालनमा ल्याउने घोषणा गरेको थियो ।

प्रधानमन्त्री शाहले भदौ १७ गते प्रतिनिधिसभामा बाढीपछिको खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनबारे जानकारी दिँदै कृष्णभीरमा अवरुद्ध सडक भदौभित्र सञ्चालनमा ल्याउने बताएका थिए ।

पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा भदौ २८ गतेदेखि उक्त खण्डमा परीक्षणका रूपमा यातायात सञ्चालनमा आइसकेको छ । आगामी असोज १ गतेदेखि भने दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

भदौ १० गते आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्‍याएको थियो । त्यसको चार दिनपछि आएको अर्को बाढीले पर्खाल भत्काएपछि नागढुंगा–मुग्लिन सडकखण्डको उक्त भागमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक खुलाउन पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो । अध्ययनपछि पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक खोल्ने विकल्प अघि सारिएको थियो ।

प्राविधिकको सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान सुरु गरिएको थियो । त्यसपछि करिब ३५ मिटर उचाइ र २० मिटरभित्रसम्म पहाड काटेर नयाँ ट्रयाक निर्माण गरिएको हो ।

ट्रयाक निर्माणमा प्राविधिकसहित करिब ५० जना जनशक्ति दैनिक १२ देखि १६ घण्टासम्म खटिएका थिए । काम सुरु भएको १०औँ दिनमै, भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारीसाधनलाई परीक्षणका रूपमा सञ्चालन गरिएको थियो । त्यसयता बिहान र बेलुका अत्यावश्यक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

अहिले नयाँ ट्रयाकमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । मन्त्रालयका अनुसार ग्राभेलको काम भोलिसम्म सकिनेछ र असोज १ गते बिहानदेखि उक्त खण्डमा दुईतर्फी यातायात सञ्चालन गरिनेछ ।

बाढीले सडक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि वैकल्पिक ट्रयाक निर्माण गरी छोटो समयमै यातायात सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलवार १७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।