Logo

बैंकिङ

बाढी प्रभावितलाई राहत तथा सहयोग स्वरूप प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन



काठमाडौं । प्राकृतिक विपद् तथा बाढीबाट प्रभावित घाइतेहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रभु बैंकले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा भदौ ३० गते बैंकले एकैसाथ सातै प्रदेशका विभिन्न शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य सहभागीबाट ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार बाग्मती प्रदेशमा केन्द्रीय कार्यालय बबरमहल र नारायणगढ शाखा, कोशी प्रदेशमा विराटनगर शाखा, मधेस प्रदेशमा सिमरा शाखा, गण्डकी प्रदेशमा अमरसिंहचोक शाखा, लुम्बिनी प्रदेशमा बुटवल शाखा, कर्णाली प्रदेशमा सुर्खेत शाखा तथा सुदूरपश्चिम प्रदेशमा धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

यसअघि पनि बैंकले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित र घरबारविहीन परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ तथा बैंकका सञ्चालक र कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ कोषमा जम्मा गरेको जनाएको छ ।

त्यस्तै, बाढी प्रभावित परिवारका लागि बैंकले थप सहयोगस्वरूप १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो ।

प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित समुदायप्रति समवेदना प्रकट गरेको छ ।

बैंकले विपद्को कठिन अवस्थामा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

 

 

 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलवार १८:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।