Logo

अर्थ

विकास बैंकको नाफामा दबाब: ५.२० प्रतिशत घट्दा १७ बैंकले कमाए जम्मा ६५ करोड, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा विकास बैंकहरूको खुद नाफा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ विकास बैंकले साउनमा कुल ६५ करोड ७९ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

यो रकम गत आर्थिक वर्ष २०८२/८३ को साउनको तुलनामा ५.२० प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा विकास बैंकहरूले ६९ करोड ४० लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएका थिए । एक वर्षमा विकास बैंकहरूको कुल नाफा ३ करोड ६१ लाख १० हजार रुपैयाँले घटेको हो ।

साउनमा सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक छ । बैंकले १३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, यो गत वर्षको साउनको तुलनामा १५.२० प्रतिशत कम हो ।

गरिमा विकास बैंकले १२ करोड ७८ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा पनि गत वर्षको तुलनामा ४.५४ प्रतिशत घटेको हो ।

यता महालक्ष्मी विकास बैंकको नाफामा भने उल्लेख्य वृद्धि भएको छ । बैंकले साउनमा १० करोड ८२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७८.५९ प्रतिशत बढी हो ।

कामना सेवा विकास बैंकले ९ करोड ९९ लाख तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ९ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । त्यस्तै, ज्योति विकास बैंकले ८ करोड ५६ लाख र सांग्रिला डेभलपमेन्ट बैंकले ४ करोड ७४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

मितेरी डेभलपमेन्ट बैंकले ९४ लाख ६० हजार, लुम्बिनी विकास बैंकले ९१ लाख ४० हजार, ग्रिन डेभलपमेन्ट बैंकले ५५ लाख १० हजार र सप्तकोशी डेभलपमेन्ट बैंकले १७ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

नारायणी विकास बैंक भने घाटाबाट नाफामा फर्किएको छ । गत वर्षको साउनमा २८ लाख ४० हजार रुपैयाँ घाटामा रहेको बैंकले यस वर्ष ११ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

साउनमा केही विकास बैंक भने घाटामा छन् । सालपा विकास बैंक ५ लाख ७० हजार रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंक १५ लाख ४० हजार, सिन्धु विकास बैंक ३८ लाख ३० हजार र कर्णाली डेभलपमेन्ट बैंक ८३ लाख ६० हजार रुपैयाँ घाटामा छन् ।

एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा भने ५ करोड २४ लाख ८० हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार केही विकास बैंकको नाफा बढे पनि मुक्तिनाथ र गरिमालगायत तुलनात्मक रूपमा ठूला विकास बैंकको नाफा घटेका कारण समग्र विकास बैंकिङ क्षेत्रको खुद नाफामा कमी आएको हो ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार २०:२३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।