Logo

पर्यटन

हिउँ पहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यु



गोरखा ।  मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका नेपाली आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार दुवै जना मनास्लुको तेस्रो शिविरमा टेन्टभित्र सुतिरहेका बेला माथिबाट आएको हिमपहिरोले पुरिएका थिए। करिब सात फिट हिउँले पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

गुहा र शेर्पा मकालु एड्भेञ्चर कम्पनी प्रालिमार्फत मनास्लु आरोहणका लागि गएका थिए। उनीहरूको शव सोमबार हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।

यससँगै चालु आरोहण याममा मनास्लुमा मृत्यु हुनेको संख्या चार पुगेको छ। यसअघि सिंगापुरका ५० वर्षीय आरोही लाउ वी सेङको दोस्रो शिविरमा मृत्यु भएको थियो। त्यस्तै, २० वर्षीय नेपाली आरोहण सहयोगी टासी शेर्पाको आधारशिविरमा मृत्यु भएको थियो।

यस याममा मनास्लु आरोहणका लागि ४८० जना विदेशी आरोहीले अनुमति लिएका छन्। आरोहणका लागि रोप फिक्सिङको काम सम्पन्न भइसकेको छ भने आरोहीहरू अन्तिम तयारीमा जुटेका छन्।

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार २०:४०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।