Logo

समाचार

म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिबाना



पोखरा ।  म्याद गुज्रिएका खाद्यवस्तु पुनः प्रशोधन गरी नयाँ प्याकेटमा प्याक गरेर बिक्री वितरण गरेको पाइएपछि पोखरा महानगरपालिका–९, नयाँबजारस्थित मोहित ट्रेडर्सलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा आइतबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा ट्रेडर्समा बिक्रीका लागि राखिएका अधिकांश खाद्यवस्तु म्याद गुज्रिएका तथा किराले खाएर खान अयोग्य अवस्थामा भेटिएका थिए । पसलको सरसफाइको अवस्था पनि कमजोर रहेको अनुगमन टोलीले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार म्याद गुज्रिएका चामललगायत खाद्यवस्तु पुनः प्रशोधन गरी नयाँ प्याकेटमा प्याक गरेर बजारमा बिक्री गर्ने गरेको समेत अनुगमनका क्रममा पुष्टि भएको थियो । त्यसपछि प्रचलित कानुनअनुसार ट्रेडर्सलाई जरिवाना गरिएको उनले बताए ।

‘म्याद गुज्रिएका र किराले खाएका खाद्यवस्तु बिक्रीका लागि राखिएको पाइयो । जनस्वास्थ्यमा गम्भीर लापरवाही गरेको देखिएपछि कानुनअनुसार कारबाही गरेका हौं,’ बरालले भने ।

अनुगमन टोलीले म्याद गुज्रिएका तथा खान अयोग्य खाद्यवस्तुको थप बिक्रीमा रोक लगाउँदै तिनको व्यवस्थापन गरेको छ । खाद्यवस्तु पुनः प्रशोधन गर्न प्रयोग गरिएको रिफाइनिङ मेसिन पोखरा महानगरपालिकाले जफत गरेको छ ।

प्रशासनको टोलीले पोखराका अन्य ठूला खाद्य स्टोर्समा समेत अनुगमन गरेको थियो । ती पसलमा खाद्यवस्तुको म्याद, गुणस्तर, भण्डारणको अवस्था, मूल्यसूची, सरसफाइ तथा उपभोक्ता स्वास्थ्यमा पर्न सक्ने जोखिमबारे निरीक्षण गरिएको प्रशासनले जनाएको छ ।

दसैं, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाद्यवस्तुको माग बढ्ने भएकाले व्यापारीले अनुचित लाभ लिन सक्ने तथा कृत्रिम अभाव र कालोबजारी हुन सक्ने जोखिमलाई ध्यानमा राखेर बजार अनुगमनलाई थप प्रभावकारी बनाइने बरालले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार २१:०८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।