काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई नियुक्त गरेको छ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले कार्कीलाई विभागको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कार्की रास्वपाको पहिलो महाधिवेशनअघि पनि सोही विभागमा सदस्य थिए। महाधिवेशनपछि शिशिर खनालको नेतृत्वमा रहेको विभागमा उनलाई पुनः निरन्तरता दिइएको हो।
काठमाडौं निवासी कार्कीलाई पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागको नियमावलीअनुसार जिम्मेवारी निर्वाह गर्ने विश्वासका साथ नियुक्त गरिएको रास्वपाले जनाएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक क्षेत्रमा अनुभव हासिल गरेका कार्कीले विश्वभरका युवा लोकतन्त्रवादीहरू आबद्ध संगठनको सहअध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनले युनिभर्सिटी अफ इस्ट लन्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिक शास्त्रमा स्नातक गरेका छन्।
कार्कीले पोल्यान्डमा आयोजित संयुक्त राष्ट्रसंघीय वर्ल्ड अर्बन फोरम, अमेरिकाको वासिङ्टन डीसी र न्युजिल्यान्डमा आयोजित विभिन्न प्रजातान्त्रिक फोरमसहित फिनल्यान्ड, जर्मनी, मोरक्को र बेलायतलगायत देशमा भएका अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरेका थिए। ती कार्यक्रममा उनले नीतिगत संवाद तथा अन्तर्राष्ट्रिय सञ्जालमा काम गरेको पार्टीले जनाएको छ।
विभागको सदस्यमा नियुक्त भएपछि कार्कीले पार्टीको विधान, नीति र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै नेतृत्वको मार्गदर्शनमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ, प्रभावकारी र विस्तार गर्न प्रयास गर्ने बताएका छन्।
सचिवालय बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट र टासी लाजोमलाई समेत नियुक्त गरेको छ।

















प्रतिक्रिया