काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार र आइतबार ती वडामा वडा कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधि छनोटका लागि निर्वाचन भएको हो। समितिका सदस्य–सचिव राजु कटुवालले अधिकांश स्थानमा अधिवेशन उत्साहपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुँदैछ। महाधिवेशनअन्तर्गत वडा तहबाटै नयाँ नेतृत्व चयन र क्षेत्रीय प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाइएको हो।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने हालसम्म वडा अधिवेशन हुन सकेको छैन।
कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ बाहेक) र सुनसरीलगायत जिल्लामा वडा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
त्यस्तै, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाका वडामा पनि अधिवेशन सम्पन्न भएको छ।
निर्वाचन समितिका अनुसार सप्तरीका क्षेत्र नं. २ र ४, सर्लाही क्षेत्र नं. २, रौतहट क्षेत्र नं. १ तथा परासी क्षेत्र नं. २ मा भने अधिवेशन प्रक्रिया अघि बढ्न सकेको छैन। सिरहा र मोरङ क्षेत्र नं. ६ मा पनि अधिवेशन हुन बाँकी छ।
रसुवा, नुवाकोट र धादिङबाहेक सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २, परासी क्षेत्र नं. २ तथा असोज ४ गते सम्पन्न हुन नसकेका अन्य वडा अधिवेशन सोमबार असोज ५ गते निरन्तर सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ।

















प्रतिक्रिया