काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रण तथा अनुगमनलाई तीव्रता दिएको छ। मन्त्री गीता चौधरीको निर्देशनमा वातावरण विभागले बुधबारदेखि सवारीसाधनको प्रदूषण परीक्षण तथा छड्के अनुगमन थालेको हो।
मन्त्रालयका अनुसार आगामी ८ सातासम्म हप्तामा ५ दिन सवारीसाधनको प्रदूषण परीक्षण गरिनेछ। त्यसमध्ये ३ दिन सडकमा गुड्ने सवारीसाधन र २ दिन विद्यालयका सवारीसाधनको परीक्षण गरिनेछ।
बुधबार रोजबड स्कुल, बुद्धनगरका १२ वटा स्कुल बसको प्रदूषण परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। परीक्षण तथा अनुगमनका क्रममा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिनेछ।
यस्तै, सिनामंगलस्थित विमानस्थल क्षेत्रबाट सञ्चालन हुने सवारीसाधनको प्रदूषण जाँचका क्रममा ३० वटा सवारीसाधन परीक्षण गरिएको थियो। तीमध्ये २५ वटा प्रदूषण मापदण्डमा पास भएका छन् भने ५ वटा फेल भएका छन्।
स्वच्छ तथा प्रदूषणमुक्त वातावरण निर्माणका लागि सम्बन्धित निकायसँगको समन्वयमा सवारीसाधनको प्रदूषण परीक्षणलाई थप प्रभावकारी बनाउँदै लैजाने मन्त्रालयले जनाएको छ।

















प्रतिक्रिया