Logo

अन्तर्राष्ट्रिय

गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु



काठमाडौं । दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यचिकित्सा विभागमा इजरायलले गरेको आक्रमणमा चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ । आक्रमणमा बिरामी र उनीहरूका कुरुवासहित कम्तीमा २७ जना घाइते भएका छन् ।

अलजजिराका अनुसार गाजा स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान अस्पतालको शल्यचिकित्सा भवनलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ । मृत्यु हुनेमा चिकित्सक रिज्क अबु शुवाइरा पनि छन् ।

गाजा स्वास्थ्य मन्त्रालयले अस्पताल, स्वास्थ्यकर्मी र बिरामीलाई अन्तर्राष्ट्रिय कानुनले प्रदान गरेको संरक्षणको उल्लंघन भएको भन्दै आक्रमणको निन्दा गरेको छ ।

साथै अस्पतालको सुरक्षा सुनिश्चित गर्न र घटनामा संलग्नलाई जवाफदेही बनाउन संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले पनि आक्रमणमा ६ जनाको मृत्यु र कम्तीमा २७ जना घाइते भएको पुष्टि गरेका छन् ।

उनका अनुसार आक्रमणबाट अस्पतालको शल्यचिकित्सा विभागमा व्यापक क्षति पुगेको छ । शल्यक्रिया कक्ष, बिरामीको स्वास्थ्यलाभ कक्ष र सघन उपचार कक्षसमेत प्रभावित भएको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताएका छन् ।

टेड्रोसका अनुसार सन् २०२३ अक्टोबरदेखि हालसम्म डब्लुएचओले गाजामा स्वास्थ्य सेवासम्बन्धी पूर्वाधारमाथि भएका १ हजार ५६ वटा आक्रमण अभिलेख गरेको छ । ती घटनामा १ हजार १० जनाको मृत्यु र १ हजार ७२५ जना घाइते भएका छन् ।

यता इजरायली रक्षा बल (आईडीएफ) ले भने उक्त आक्रमण नासेर अस्पताल परिसरभित्र सक्रिय हमासका सैन्य सदस्यलाई लक्षित गरी गरिएको दाबी गरेको छ । इजरायली सेनाका अनुसार आक्रमणमा खान युनिस ब्रिगेडका वरिष्ठ कमान्डर मोहम्मद अबु इस्माइल पनि लक्षित थिए ।

आईडीएफले अस्पतालको दोस्रो तलालाई हमासले सैन्य मुख्यालयका रूपमा प्रयोग गरिरहेको र त्यहाँका कमान्डरहरूले कडा सुरक्षा व्यवस्थाबीच सैन्य गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएको छ । उक्त कमान्डर युद्धका क्रममा बन्धकहरूलाई नियन्त्रणमा राख्ने कार्यमा संलग्न रहेको पनि इजरायली सेनाको दाबी छ ।

इजरायली सेनाले आक्रमणअघि अस्पतालमा भइरहेको सैन्य गतिविधि रोक्न पटक–पटक चेतावनी दिएको र नागरिक तथा अस्पतालमा हुने क्षति न्यूनीकरणका लागि सावधानी अपनाएको जनाएको छ । अस्पताल परिसरलाई सैन्य गतिविधिका लागि प्रयोग गरिएको आरोप लगाउँदै त्यहाँबाट इजरायली सैनिकमाथि आक्रमणको योजना बनाउने र हमासको सैन्य क्षमता पुनर्निर्माण गर्ने काम भइरहेको उसको दाबी छ ।

तर डब्लुएचओ प्रमुख टेड्रोसले गाजाका स्वास्थ्य संस्थाहरू त्यहाँका नागरिकका लागि जीवनरक्षक आधार भएको भन्दै तिनको सुरक्षा गर्नुपर्नेमा जोड दिएका छन् । अस्पताललाई सैन्य प्रयोजनमा प्रयोग गर्न र आक्रमण गर्न नहुने उनको भनाइ छ । अक्टोबर २०२५ मा युद्धविराम लागू भए पनि गाजामा अस्पतालमाथि पछिल्लो आक्रमण भएको हो । एएनआई

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार ०९:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।