Logo

राजनीति

श्रममन्त्री र मलेसियाका समकक्षीबीच वार्ता, इजाजत प्राप्त नेपाली म्यानपावरलाई सूचीकृत गर्न आग्रह



काठमाडौं।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले मलेसियाले लागू गरेको फरेन वर्कर म्यानेजमेन्ट सिस्टम (एफडब्लुएमएस) मा नेपालमा इजाजत प्राप्त सबै म्यानपावर कम्पनीलाई सूचीकृत गर्न आग्रह गरेका छन्।

मन्त्री यादवले बिहीबार मलेसियाका मानव संशाधनमन्त्री रमानान रामाकृष्णसँग टेलिफोन संवाद गर्दै सीमित म्यानपावर कम्पनीलाई मात्रै एफडब्लुएमएसमा सूचीकृत गरिएको विषयमा चासो व्यक्त गरेका हुन्।

गत ५ भदौमा मलेसियाले नेपालसहित १० देशबाट श्रमिक भर्नाका लागि सीमित म्यानपावर कम्पनीलाई एफडब्लुएमएसमा सूचीकृत गरेको थियो। उक्त सूचीमा नेपालका २५ वटा म्यानपावर कम्पनीलाई प्रमुख तथा तीअन्तर्गत २५० वटा कम्पनीलाई सहायक तथा सहयोगीका रूपमा राखिएको थियो।

श्रम मन्त्रालयका अनुसार मन्त्री यादवले ती कम्पनीको छनोट नेपालको वैदेशिक रोजगारसम्बन्धी कानुन र विद्यमान व्यवस्थासँग मेल नखाने भन्दै गम्भीर चासो व्यक्त गरेका थिए।

‘नेपाल सरकारबाट इजाजत प्राप्त संस्थाले निःशुल्क तथा निष्पक्ष रूपमा श्रमिक पठाउने प्रावधान रहेको’ उल्लेख गर्दै उनले २५ प्रमुख र २५० सहयोगी एजेन्सीको व्यवस्थाबारे पुनर्विचार गर्न आग्रह गरेको मन्त्रालयले जनाएको छ।

मन्त्री यादवले नेपाल र मलेसियाबीचको श्रमसम्बन्धी विषयमा संवादलाई निरन्तरता दिँदै आपसी सहमतिबाट निष्कर्षमा पुग्न आग्रह गरेका थिए।

मलेसियाका मानव संशाधनमन्त्री रामाकृष्णले पनि संवादमार्फत विषय टुंग्याउन सकिने बताएका थिए। उनले मलेसिया सरकारले नेपालसँगको श्रम सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेको मन्त्रालयले जनाएको छ।

यसअघि मंगलबार प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनबर इब्राहिमबीच भएको वार्तामा पनि वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा सहमति भएको थियो।

 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार २१:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।