Logo

विचार / ब्लग

कांग्रेसमा युवाको प्रवेश : पुस्तान्तरणको सुरुवात



नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्वमा पुस्तान्तरणको बहससँग जोडेर हेर्नुपर्ने आधार तयार भएको छ। ३५ वर्षमुनिका युवालाई केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चित गर्ने विधानको व्यवस्थाले लामो इतिहास बोकेको पार्टीमा नयाँ पुस्ताका लागि संगठनात्मक ठाउँ विस्तार गर्ने संकेत गरेको छ।

२१ वर्षको उमेरमा नेपाल महिला संघको केन्द्रीय सदस्य बन्ने अवसर पाएकी र २२ वर्षमा कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा प्रतिस्पर्धा गरेकी बिधिशा मिश्रले आफ्नो अनुभवलाई व्यक्तिगत उपलब्धिभन्दा पनि कांग्रेसभित्र युवाका लागि खुल्दै गएको राजनीतिक ठाउँका रूपमा व्याख्या गरेकी छन्।

उनका अनुसार ८० वर्ष लामो इतिहास बोकेको कांग्रेसमा युवाका लागि ठाउँ छैन भन्ने धारणा रहे पनि अवसर खोज्ने, प्रतिस्पर्धा गर्ने र जिम्मेवारी सम्हाल्ने युवाका लागि ठाउँ विस्तार हुँदै गएको छ।

विशेष महाधिवेशनपछि संशोधित विधानअनुसार ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने व्यवस्था गरिएको छ। प्रदेशदेखि केन्द्रसम्म युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने यो प्रावधानलाई कांग्रेसको संगठनात्मक अभ्यासमा आएको महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। यसपटक देशभरका विभिन्न तहमा १३ हजारभन्दा बढी युवा नेतृत्व तहमा प्रवेश गर्ने दाबी पनि गरिएको छ।

मिश्रले यसलाई केवल संख्याको विषयका रूपमा नहेर्न आग्रह गरेकी छन्। उनका अनुसार राजनीतिमा पुस्तान्तरणको बहस लामो समयदेखि भए पनि बहस र व्यवहारबीचको दूरी कम हुन सकेको थिएन। अहिले त्यो दूरी केही हदसम्म घटेको उनको बुझाइ छ।

आफ्नै निर्वाचन परिणाम भने अपेक्षाअनुसार नआएको उनले स्वीकार गरेकी छन्। आफू पराजित भए पनि आफ्नो ठाउँमा अर्को युवा निर्वाचित भएर अघि बढेकोमा खुसी लागेको उनको भनाइ छ।

‘राजनीतिमा जित र हार सामान्य प्रक्रिया हुन्। एउटा निर्वाचनको परिणामले यात्राको अर्थ निर्धारण गर्दैन,’ मिश्रले भनेकी छन्, ‘महत्त्वपूर्ण कुरा त्यो यात्राले कति नयाँ मानिसलाई अगाडि आउन प्रेरित गर्छ र संगठनभित्र कति नयाँ ठाउँ बनाउँछ भन्ने हो।’

जेन–जी आन्दोलनपछि नेपाली समाजमा पुस्तान्तरणको बहस थप बलियो बनेको उनको बुझाइ छ। राजनीतिक दलको नेतृत्व, कार्यशैली र निर्णय प्रक्रियामा नयाँ पुस्ताको सहभागिताको प्रश्न उठिरहेका बेला कांग्रेसले त्यसलाई आफ्नो संगठनात्मक संरचनासँग जोड्न थालेको उनले उल्लेख गरेकी छन्।

तर पुस्तान्तरणको अर्थ पुरानो पुस्तालाई विस्थापित गरेर नयाँ पुस्तालाई स्थापित गर्नु मात्र नभएको उनको तर्क छ। अग्रज पुस्ताको राजनीतिक अनुभव र नयाँ पुस्ताको ऊर्जा, प्रविधि तथा नयाँ सोचबीच संवाद आवश्यक रहेको उनले बताएकी छन्।

युवालाई भातृ संगठनको जिम्मेवारी दिने वा निर्वाचनका बेला परिचालन गर्ने पुस्ताका रूपमा मात्र हेर्न नहुने मिश्रको धारणा छ। उनीहरू पार्टीको नीति निर्माण, संगठन सञ्चालन र निर्णय प्रक्रियामा सहभागी हुने तहमा पुग्नुपर्ने उनको भनाइ छ।

आफ्नो राजनीतिक यात्रालाई पनि उनले यही प्रक्रियासँग जोडेर हेरेकी छन्। २१ वर्षमा नेपाल महिला संघको केन्द्रीय सदस्य बन्ने अवसर, २२ वर्षमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा प्रतिस्पर्धा र अहिले युवाहरू कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने अवस्थालाई उनले पुरानो पार्टीभित्र नयाँ पुस्ताका लागि ठाउँ बनाउन सकिने उदाहरणका रूपमा प्रस्तुत गरेकी छन्।

‘युवाले अवसर पाएका छन् भने त्यसको जिम्मेवारी पनि लिनुपर्छ। नयाँ पुस्ताले पुरानो पुस्ताको आलोचना मात्र गरेर पुग्दैन, आफूले कस्तो राजनीति गर्न चाहेको हो, त्यो व्यवहारबाट देखाउनुपर्ने समय आएको छ,’ उनले भनेकी छन्।

उनका अनुसार पुस्तान्तरण भाषणमा धेरै सुनिएको शब्द भए पनि अब त्यसको परीक्षण संगठन र नेतृत्वमा हुनेछ। युवा बोल्ने ठाउँमा मात्र होइन, निर्णय गर्ने ठाउँमा पुग्नुपर्ने उनको धारणा छ।

‘पुस्तान्तरण भाषणमा मात्र होइन, आसन र शासनमा देखिनुपर्छ,’ मिश्रले भनेकी छन्।

आफू पराजित भए पनि युवाको यात्रा नरोकिएको उनको निष्कर्ष छ। आफ्नो सट्टा अर्को युवा अघि बढेको अवस्थालाई उनले राजनीतिक यात्राको सकारात्मक अर्थका रूपमा लिएकी छन्।

अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई सँगसँगै अघि बढाउन सके कांग्रेसले आफ्नो लामो इतिहासलाई नयाँ पुस्तासँग जोड्न सक्ने उनको विश्वास छ। १५औँ महाधिवेशनलाई उनले त्यस यात्राको एउटा महत्त्वपूर्ण चरणका रूपमा लिएकी छन्।

— बिधिशा मिश्र स्वतन्त्र विद्यार्थी युनियन, नेपाल ल क्याम्पसको कोषाध्यक्ष हुन् ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार २१:२४   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।