काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिको पक्षमा नेपाली कांग्रेससँग मिलेर काम गर्न एमाले तयार रहेको बताएका छन्।
आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले मुलुक अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको भन्दै राष्ट्रियताका प्रश्नमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए।
उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक विपत्तिको जोखिम बढिरहेको भन्दै विपत्तिको सामना गर्न राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए।
भोटेकोशी र त्रिशूलीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको र अझै हजारौँ मानिस बेपत्ता रहेको उल्लेख गर्दै उनले जलवायु न्यायको प्रश्न नेपालको साझा प्रश्न भएको बताए।
पोखरेलले लोकतन्त्रको भविष्यमाथि समेत चिन्ता उत्पन्न भएको बताए। निर्वाचित जनप्रतिनिधि, संसद् र नागरिकसँग सरकारले संवाद गर्न नसकेको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू सामूहिक रूपमा अघि बढ्नुपर्ने धारणा राखे।
उनले भने, ‘जसरी हिजो नेपालका वामपन्थीहरू र लोकतन्त्रवादी शक्तिहरू मिलेर राणाशाहीलाई परास्त गरेका छौँ, पञ्चायतलाई परास्त गरेका छौँ, राजा ज्ञानेन्द्रको तानाशाहीलाई परास्त गरेका छौँ, त्यसैगरी लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ।’
पोखरेलले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा पर्नसक्ने अवस्था रहेकाले राष्ट्रियता र सार्वभौमसत्ताको रक्षाका लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए। नेपालका छिमेकी मुलुकलाई समेत आश्वस्त पार्नेगरी राष्ट्रिय हितमा साझा धारणा बनाउनुपर्ने उनको भनाइ थियो।
उनले जनताले सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकासको अपेक्षा गरेपनि ती क्षेत्रमा अपेक्षाअनुसार प्रगति हुन नसकेको बताए । रोजगारीका लागि ठूलो संख्यामा युवा विदेश जान बाध्य रहेको भन्दै नयाँ पुस्ताका सपना र अपेक्षालाई निराशामा बदल्न नहुने धारणा राखे । ‘इतिहासको गौरवलाई भविष्यको योजना र सङ्कल्पमा बदल्ने काम जबसम्म हामीले गर्न सक्दैनौँ, युवाहरूका सपनाहरू पूरा गर्न सकिँदैन,’ उनले भने।
पोखरेलले सूचना प्रविधिको क्रान्तिले समाजको मनोविज्ञानमा ल्याएको परिवर्तनलाई राजनीतिक दलहरूले आत्मसात् गर्नुपर्ने बताए। कांग्रेसको १५औँ महाधिवेशनले नयाँ पुस्ताका अपेक्षा र भावनालाई सम्बोधन गर्न सक्नुपर्ने उनको भनाइ थियो।
उनले अनुहार परिवर्तन मात्रै पर्याप्त नहुने भन्दै राजनीतिक दलहरूले नयाँ पुस्ताको मनोविज्ञानअनुसार आफ्नो आन्दोलन र संगठनलाई नयाँ रूपमा अघि बढाउनुपर्ने बताए।



















प्रतिक्रिया