Logo

राजनीति

कांग्रेसको १५औँ महाधिवेशन परिवर्तनको बिगुल फुक्ने महाधिवेशन : डा. उपाध्याय



काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा महामन्त्रीका उम्मेदवार डा.सन्तोष उपाध्यायले पार्टीको १५औँ महाधिवेशनलाई नेपाली राजनीतिमा परिवर्तनको बिगुल फुक्ने महाधिवेशनका रूपमा लिनुपर्ने बताएका छन् ।

अछामबाट महाधिवेशन प्रतिनिधि रहेका उपाध्यायले कांग्रेसले विगतमा राजनीतिक नेतृत्व सम्हाल्दै आए पनि पछिल्लो समय आफ्नो राजनीतिक लय गुमाएको र त्यसलाई पुनः स्थापित गर्न १५औँ महाधिवेशन महत्वपूर्ण हुने बताए ।

उनले विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन भएपनि त्यसअनुसारको अपेक्षित परिणाम आउन नसकेको भन्दै कांग्रेसले अझै जनताले खोजेको स्वरूप ग्रहण गर्न नसकेको बताए ।

नयाँ पुस्तालाई पार्टीको निर्णायक भूमिकामा पर्याप्त स्थान दिन नसक्दा निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘नेपालको राजनीतिमा एउटा परिवर्तनको बिगुलफुक्ने महाधिवेशनका रूपमा मैंले देखेको छु । कांग्रेसले विगतमा राजनीतिक र राज्यको बागडोर सम्हाल्दै आएपनि पछिल्लो समय कताकता आफ्नो लय गुमाएको थियो ।

अहिले त्यो लय पुनः समात्नका लागि नियमित महाधिवेशन निकै महत्वपूर्ण छ । नेपालको राज्य व्यवस्था र समग्र राजनीतिलाई स्थिरता दिनपनि यो महाधिवेशन आवश्यक छ ।’

उपाध्यायले युवाको सहभागिता केन्द्रीय सदस्यमा मात्र सीमित नभई पदाधिकारी तथा पार्टीका निर्णायक तहमा समेत हुनुपर्नेमा जोड दिए । उनले आफू महामन्त्रीमा उम्मेदवारी दिँदै गर्दा सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म युवाको सशक्त टोली निर्माण गरेको बताए ।

उनले आफूले अघि सारेको अभियान पार्टीमा पुस्तान्तरणलाई पूर्णता दिने उद्देश्यमा केन्द्रित रहेको बताए । उनका अनुसार नेतृत्वका अनुहार परिवर्तन भए पनि जनताले खोजेको नेतृत्वको स्वरूप अझै पूर्ण हुन सकेको छैन ।

उनले भने, ‘पार्टीमा जुन पुस्तान्तरणको अभियान थालेका थियौँ, त्यो हस्तान्तरण भएर फेरि त्यहीँ अडिग भएर बसेको अवस्था छ । अनुहारहरू परिवर्तन भए, व्यक्तिगत रूपमा उहाँहरू सबै राम्रो हुनुहुन्छ, तर जनताले खोजेको नेतृत्व अझै पूर्ण छैन जस्तो लाग्छ । त्यसैले युवाको सहभागिता केन्द्रीय सदस्यमा मात्रै होइन पदाधिकारी र निर्णायक भूमिकामा पनि हुनुपर्छ भन्ने माग हो ।’

चिकित्सकसमेत रहेका उपाध्यायले आफू राजनीतिमा आउनुको मुख्य उद्देश्य व्यक्तिगत रूपमा बिरामीको उपचार गर्नुभन्दा राज्यको नीति निर्माणमार्फत ठूलो संख्यामा नागरिकको जीवनमा प्रभाव पार्नु रहेको बताए ।

उनले स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटन र खेलकुदलगायत क्षेत्रको विकास जिल्ला तहबाटै गर्नुपर्ने आवश्यकता औँल्याए । दुर्गम जिल्लाका नागरिक सामान्य स्वास्थ्य उपचारका लागि समेत काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्न राज्यको नीति र संरचनामा सुधार आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘मैले एकजना व्यक्तिको उपचार गर्नुभन्दा पनि पोलिसी राम्रो बनाएर राज्य कसरी अगाडि बढ्न सक्छ भन्ने कुरामा योगदान गर्न सक्छु भन्ने देखेको छु । स्वास्थ्य, शिक्षा, रोजगारी र पर्यटनदेखि खेलकुदसम्म जिल्ला स्तरमै सशक्त नेतृत्व बनाउन जरुरी छ ।

दुर्गम जिल्लाका बिरामीहरू सबै उपचारका लागि काठमाडौंमै आउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ । त्यसका लागि युवा पुस्ताको नेतृत्व आवश्यक छ ।’

आफूले चिकित्सकका रूपमा काम गर्दा जिल्लामा निर्माणाधीन अस्पतालको संरचना वर्षौँसम्म पूरा हुन नसकेको उदाहरण दिँदै उनले विकासका लागि नीतिगत र राजनीतिक नेतृत्व आवश्यक रहेको बताए ।

उपाध्यायले आफूले चिकित्सा क्षेत्रमा अध्ययनसँगै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गर्दै युवा पुस्ताको क्षमता र नेतृत्वलाई पार्टीले निर्णायक तहमा स्थान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आईतवार १८:५१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।