Logo

खेलकुद

एनपीएलमा पहिलोपटक डीआरएस, एलबीडब्ल्यूसहित रनआउट र नो बलको पनि रिभ्यू हुने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ। यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा डीआरएस प्रयोग गरिने जानकारी एनपीएलको आधिकारिक फेसबुक पेजमार्फत दिइएको हो।

डीआरएस प्रयोगसँगै प्रतियोगितामा अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्न सकिनेछ। यसले खेलका महत्त्वपूर्ण क्षणमा निर्णयको शुद्धता बढाउनुका साथै खेललाई थप प्रतिस्पर्धात्मक बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

एनपीएलमा एलबीडब्ल्यूको निर्णय पुनरावलोकन गर्न फूल थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ। यस्तै, रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू गर्न सकिने व्यवस्था रहनेछ।

प्रतियोगितामा कृत्रिम बुद्धिमत्ता (एआई) को सहायताबाट ब्याटमा बलले एज लिएको पहिचान गर्ने प्रविधिसमेत प्रयोग हुनेछ। यसका अतिरिक्त हाइटका आधारमा वाइड बलको मूल्यांकन, छक्काको दूरी र उचाइ मापन तथा अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुने जनाइएको छ।

डीआरएस क्रिकेटमा अम्पायरको निर्णय पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो। यसको सहायताले खेलाडीले निश्चित अवस्थामा अम्पायरको निर्णय चुनौती दिन सक्छन्। उपलब्ध प्रविधिबाट प्राप्त प्रमाणका आधारमा निर्णय कायम राख्ने वा परिवर्तन गर्ने प्रक्रिया अघि बढाइन्छ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलमा डीआरएसको प्रयोग नेपाली क्रिकेटका लागि कोसेढुंगा साबित हुने बताएका छन्।

डीआरएस र अन्य आधुनिक प्रविधिको प्रयोगले एनपीएलको प्राविधिक स्तर उकास्नुका साथै नेपाली क्रिकेटमा अन्तर्राष्ट्रियस्तरको खेल अनुभव विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलवार १४:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।