काठमाडौँ । बडादसैँको मुख्य दिन विजयादशमी आज मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदै छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी नेपालीको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका प्रसाद ग्रहण गर्न इच्छुकका लागि आज बिहान १० बजेर २६ मिनेटको साइत उत्तम रहेको छ। यद्यपि, विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन साइत खोज्न आवश्यक नरहेको समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्।
राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको उनले बताए। शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने धार्मिक विश्वासका आधारमा साइत निर्धारण गरिएको उनको भनाइ छ।
घटस्थापनाका दिन स्थापना गरिएको दशैँघर वा पूजाकोठामा नौ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएका नवदुर्गाको प्रसाद विजयादशमीका दिन मान्यजनबाट ग्रहण गरिन्छ। घटस्थापनाका दिन राखिएको पूर्ण कलशको जलबाट अभिषेक गरी टीका लगाउने परम्परासमेत छ। यसरी अभिषेक गर्दा वर्षभर शान्ति कायम रहने धार्मिक विश्वास छ।
समितिका अनुसार घटस्थापनाका दिन जमरा राखिएको स्थानमा आह्वान गरिएका देवीको विसर्जन गर्ने साइत आज बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ।
टीका लगाउँदा दिशा मिलाउनुपर्ने
धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्कनुपर्छ भने टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्छ।
चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने शास्त्रीय मान्यताअनुसार दिशा निर्धारण गरिएको उनले बताए। टीका लगाउने र लगाइमाग्ने व्यक्तिले फर्कनुपर्ने दिशा कोजाग्रत पूर्णिमासम्म चन्द्रमा रहेको राशिका आधारमा तय हुने उनको भनाइ छ।
कोजाग्रत पूर्णिमासम्म टीका लगाउन सकिने
विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। आज टीका लगाउन नभ्याउनेले पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्छन्।
दशैँमा घटस्थापनाका दिन वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकका रूपमा ग्रहण गर्ने चलन छ। जमरालाई विभिन्न रोगव्याधमा औषधिका रूपमा प्रयोग गर्ने परम्परासमेत रहेको छ।
आज गुरु, पुरोहित, हजुरबा–हजुरआमा, बुबा–आमा तथा अन्य मान्यजनको हातबाट टीका र जमरा लगाएर यश, ऐश्वर्य, कार्यक्षमतामा वृद्धि तथा दीर्घायुको आशीर्वाद लिने गरिन्छ। मान्यजनले टीका लगाइदिँदा विभिन्न पौराणिक पात्रका गुण र विशेषता प्राप्त होऊन् भन्ने कामनासहित मन्त्र पढेर आशीर्वाद दिने परम्परा छ।
पुरुषलाई टीका लगाउँदा अश्वत्थामाको जस्तो आयु, राजा दशरथको जस्तो श्री, भगवान् रामको जस्तो शत्रु नाश गर्ने क्षमता, नहुषको जस्तो ऐश्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, भीष्मको जस्तो शौर्य, बलरामको जस्तो बल, कर्णको जस्तो दानशीलता, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्ति प्राप्त होस् भन्ने कामनासहित मन्त्र पढ्ने गरिन्छ।
त्यस्तै, महिलालाई दुर्गा भवानीको स्वरूप मानेर जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा नामका देवीको स्तुति गर्दै आशीर्वाद दिने धार्मिक परम्परा छ।
विजयको प्रतीक विजयादशमी
धार्मिक मान्यताअनुसार त्रेतायुगमा आजकै दिन भगवान् रामले असत्यका प्रतीक रावणमाथि विजय प्राप्त गरेका थिए। यही विजयको स्मरणमा विजयादशमी मनाउन थालिएको विश्वास छ।
नेपालका विभिन्न समुदायमा दशैँ मनाउने परम्परामा विविधता पाइन्छ। अधिकांश स्थानमा रातो टीका र जमरा लगाउने चलन रहे पनि केही जाति तथा समुदायमा कुल परम्पराअनुसार दही र अक्षता मिसाइएको सेतो टीका लगाउने प्रचलन छ।
विजयादशमीले पारिवारिक भेटघाट, आपसी सद्भाव र पुस्तान्तरण हुँदै आएको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएको छ। आजको दिन मान्यजनबाट आशीर्वाद लिने र परिवार तथा आफन्तसँग खुसी साटासाट गर्ने नेपाली समाजको विशिष्ट परम्परा हो।




















प्रतिक्रिया