काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले बडादशैंजस्ता चाडपर्वले नेपालीबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउने बताएका छन् ।
बडादशैंका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख अर्यालले विविधताबीचको सौहार्दपूर्ण एकतालाई मूर्त रूप दिन यस्ता पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका हुन् ।
उनले दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिको कामनासहित हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
सभामुख अर्यालले नेपालको राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले सबैलाई शुभाशीर्वाद प्रदान गरून् भन्ने कामनासमेत गरेका छन् । विजयादशमीले समस्त नेपालीमा नवीन ऊर्जा, सकारात्मक सोच, नवप्रवर्तन र राष्ट्र निर्माणको संकल्प पैदा गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले सङ्घीय संसद् जनताको सार्वभौमसत्ता र राजकीय सत्ताको संरक्षण गर्दै जनभावनाअनुरूप समयसापेक्ष तथा जनमैत्री कानुन निर्माण र परिमार्जन गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
“जनताको सार्वभौमसत्ता र राजकीय सत्तालाई अक्षुण्ण राख्दै जनभावनाअनुरूप समयसापेक्ष जनमैत्री कानुन निर्माण तथा परिमार्जन गर्दै मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सङ्घीय संसद् सदैव क्रियाशील र प्रतिबद्ध छ,” सन्देशमा भनिएको छ ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा बडादशैंलाई दुराचारमाथि सदाचार र असत्यमाथि सत्यको विजयका रूपमा मनाइने उल्लेख गर्दै सभामुख अर्यालले यस पर्वले सबैलाई समन्याय, सदाचार र लोकतान्त्रिक मूल्य–मान्यताको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
उनले नेपालको संविधानलाई शिरोपर गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन पनि सबैलाई आह्वान गरेका छन् ।
ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बडादशैं प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापनासँगै सुरु हुन्छ । सप्तमी, अष्टमी र नवमीमा नवदुर्गा भवानीको पूजा आराधना गरेपछि दशमीका दिन मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरी कोजाग्रत पूर्णिमासम्म यो पर्व हर्षोल्लासका साथ मनाउने परम्परा छ ।




















प्रतिक्रिया