Logo

राजनीति

चीन भ्रमण सकेर स्वदेश फर्किइन पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजित ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर सोमबार स्वदेश फर्किएकी छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले फोरममा सहभागी भएर फर्किएको जानकारी दिएकी हुन्।

अक्टोबर २३ देखि २५ सम्म आयोजित फोरममा भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन्।

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ मूल नारासहित आयोजित सम्मेलनमा विश्वव्यापी शासन व्यवस्था, अन्तर्राष्ट्रिय सहकार्य र समसामयिक चुनौतीका विषयमा छलफल भएको थियो।

सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठक आयोजना गरिएको थियो।

ती छलफलमा संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति, शान्ति स्थापनाका लागि आवश्यक सुधार तथा बहुपक्षीयताको प्रवर्द्धनका विषयले प्राथमिकता पाएका थिए।

त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका र विश्व व्यापारमा ग्लोबल साउथका देशको उपस्थितिबारे पनि विमर्श भएको थियो।

फोरममा जलवायु परिवर्तन र त्यसका प्रभाव, हरित अर्थतन्त्र, न्यून कार्बन विकास तथा दिगो विकासका विषयमा समेत छलफल गरिएको थियो। कृत्रिम बौद्धिकता ९एआई० र साइबर स्पेससँग सम्बन्धित चुनौती तथा सम्भावनाबारे पनि सहभागीहरूले धारणा राखेका थिए।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार २०:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।