काठमाडौँ। पूर्वसचिव डा. रामप्रसाद घिमिरेले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पद सम्हालेका छन्। प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट नियुक्त भएका पूर्वसचिव घिमिरेले औपचारिक रूपमा मंगलबार जिम्मेवारी सम्हालेका हुन्।
केही समय अघि मात्रै सचिवबाट अनिवार्य अवकाशमा गएका घिमिरे भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रतिष्ठानमा खुला प्रतिस्पर्धाबाट छानिएका हुन् ।
यसअघि मन्त्रिपरिषद्बाट सीधै नियुक्ति गर्ने अभ्यास रहेको प्रतिष्ठानमा यसपटक सार्वजनिक रूपमा दरखास्त आह्वान गरी योग्यता परीक्षण, संक्षिप्त सूचीकरण तथा प्रस्तुतीकरणका आधारमा कार्यकारी निर्देशक छनौट गरिएको हो।
मन्त्रालयले ‘नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक सिफारिस सम्बन्धी मापदण्ड, २०८३’ का आधारमा छनोट प्रक्रिया अघि बढाएको थियो।
कार्यकारी निर्देशक पदका लागि नौ जनाको आवेदन परेकोमा योग्यता परीक्षणपछि पाँच उम्मेदवारको नाम संक्षिप्त सूचीमा समेटिएको थियो ।
संक्षिप्त सूचीमा पूर्वसचिवहरू डा. घिमिरे, गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा र बाबुराम अधिकारी तथा अञ्जु मिश्र थिए। कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्ल, सोशी लामिछाने र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेल रहेका थिए।
छनोट प्रक्रियापछि मन्त्रालयले संक्षिप्त सूचीमा परेका पाँच जनामध्ये तीन जनाको नाम नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।
घिमिरेले अर्थसचिव, राष्ट्रपति कार्यालयका सचिव तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्तिसम्बन्धी जिम्मेवारी सम्हालेका थिए।
कार्यकारी निर्देशकको नियुक्ति नेपाल सरकारले गर्ने र कार्यकाल पाँच वर्षको हुने कानुनी प्रावधान छ।




















प्रतिक्रिया