Logo

बैंककबाट मन्त्री श्रेष्ठको आह्वान : जलवायु विपद्सँग जुध्न क्षेत्रीय सहकार्य गरौँ



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएका विपद्को जोखिम न्यूनीकरण गर्न अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्य सुदृढ बनाउन आग्रह गरेका छन् ।

थाइल्यान्डको बैंककमा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (ईएससीएपी) द्वारा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सत्रमा बुधबार बिहान सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

सम्बोधनका क्रममा मन्त्री श्रेष्ठले हालै लाङटाङ लिरुङमा भएको हिमपहिरो तथा बुढीगण्डकी क्षेत्रमा गएको पहिरोबाट भएको जनधनको क्षति र निर्माणाधीन जलविद्युत् आयोजनामा परेको असरबारे सहभागीहरूको ध्यानाकर्षण गराए । द्रुत क्षति तथा आवश्यकता आकलनअनुसार विपद्बाट करिब २.७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको र पुनर्निर्माणका लागि करिब ४.८ अर्ब डलर आवश्यक पर्ने उनले जानकारी दिए ।

मन्त्री श्रेष्ठले बैंकक मन्त्रीस्तरीय घोषणापत्रको मस्यौदाको स्वागत गर्दै सन् २०२६ देखि २०३० सम्मको तेस्रो चरणमा उपग्रहबाट प्राप्त तथ्याङ्कको साझेदारी, पूर्वसूचना प्रणाली र प्राविधिक सहयोगलाई थप सुदृढ बनाउन अपिल गरे । जलवायु तथा भूविपद्को प्रभाव सीमापारसमेत पर्ने भएकाले यसको सामना गर्न क्षेत्रीय सहकार्य र आधुनिक प्रविधिको उपयोग आवश्यक रहेको उनको जोड थियो ।

नेपालको हरितगृह ग्यास उत्सर्जनमा योगदान ०.०१ प्रतिशत मात्रै रहे पनि सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन हासिल गर्ने तथा स्वच्छ ऊर्जा प्रणालीको रक्षा गर्ने प्रतिबद्धता उनले दोहोर्‍याए ।

सम्मेलनकै अवसरमा बिहीबार, अक्टोबर २९ मा नेपाल र ईएससीएपीको संयुक्त आयोजनामा ‘सगरमाथादेखि सागरसम्म : भोटेकोशी–त्रिशूली विपद्का पाठहरू’ विषयक क्षेत्रीय संवाद सञ्चालन हुने जानकारी पनि मन्त्री श्रेष्ठले दिए । उनले उक्त संवादमा सहभागी हुन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार १२:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।