काठमाडौं । लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यालयको ताला बहुमत कार्यसमिति सदस्यले खोलेका छन्। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा सदस्यहरूले बुधबार ललितपुरको सातदोबाटोस्थित कार्यालयको ताला खोलेका हुन्।
ताला खोलेसँगै उनीहरूले आगामी कात्तिक १३ गते कार्यसमिति बैठक बोलाउने तयारी गरेका छन्। एन्फाको विधानअनुसार एकतिहाइभन्दा बढी सदस्यले बैठक माग गरेपछि २१ दिनसम्म बैठक आह्वान नभएको अवस्थामा २२औँ दिनमा ताला खोलेर बैठकबारे छलफल गरिएको वरिष्ठ उपाध्यक्ष खड्काले बताए।
उनका अनुसार फिफाले लगाएको प्रतिबन्ध, सरकारसँगको सहकार्य र तहगत निर्वाचनमा देखिएका अवरोधबारे छलफल गर्न बैठक बोलाउन लागिएको हो। नेपाली फुटबलमा देखिएको विवाद समाधान गरी गतिविधि पुनः सञ्चालन गर्ने उपाय खोज्नु बैठकको मुख्य उद्देश्य रहेको उनले बताए।
खड्काले कात्तिक १३ गतेको बैठकमा एन्फा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवसहित सबै कार्यसमिति सदस्यलाई उपस्थित हुन आग्रह गरेका छन्। उनका अनुसार बैठक कसैलाई पदबाट हटाउने वा कसैलाई निषेध गर्ने उद्देश्यले नभई नेपाली फुटबलमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुनेछ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले प्रतिबन्ध लगाएपछि नेपाली फुटबलका गतिविधि प्रभावित भएका छन्। यही अवस्थाबाट निकास खोज्न कार्यसमिति बैठक आवश्यक रहेको खड्काको भनाइ छ।




















प्रतिक्रिया